गार्सिनिया कम्बोजिया र म्याग्नेसियम ग्लाइसिनेटको बिक्री–वितरणमा खाद्य विभागको निगरानी

काठमाडौं।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गार्सिनिया कम्बोजिया र म्याग्नेसियम ग्लाइसिनेट लगायतका डाइटरी सप्लिमेन्ट तथा आहारपूरक खाद्य पदार्थको बिक्री–वितरण सम्बन्धमा सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित व्यवसायी तथा उपभोक्तालाई सचेत गराएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ तथा आहारपूरक (Dietary Supplement) खाद्य पदार्थ नियमन कार्यविधि, २०७२ ले परिभाषित गरेअनुसार विभागमा सूचीकृत नभएका आहारपूरक खाद्य पदार्थको बिक्री–वितरण नगर्न आग्रह गरेको हो।

गार्सिनिया कम्बोजिया र म्याग्नेसियम ग्लाइसिनेट के हुन्?

गार्सिनिया कम्बोजिया (Garcinia Cambogia) दक्षिण तथा दक्षिणपूर्वी एसियामा पाइने एक फल हो। यसको बोक्रामा पाइने हाइड्रोक्सिसिट्रिक एसिड (HCA) लाई तौल घटाउने तथा भोक नियन्त्रण गर्ने उद्देश्यले बजारमा बिक्री हुने केही आहारपूरक उत्पादनमा प्रयोग गरिन्छ। यद्यपि, यसको प्रभावकारिता र सुरक्षाबारे वैज्ञानिक प्रमाण सीमित तथा मिश्रित छन्।

म्याग्नेसियम ग्लाइसिनेट (Magnesium Glycinate) भने म्याग्नेसियम र ग्लाइसिन नामक अमिनो एसिडबाट बनेको म्याग्नेसियमको एक रूप हो। यसलाई म्याग्नेसियमको पूरकका रूपमा प्रयोग गरिन्छ। म्याग्नेसियम शरीरका मांसपेशी, स्नायु प्रणाली तथा अन्य शारीरिक प्रक्रियाका लागि आवश्यक खनिज हो। तर यसको प्रयोग आवश्यकता, मात्रा र स्वास्थ्य अवस्थाअनुसार फरक पर्न सक्छ।

विभागले गार्सिनिया कम्बोजिया तथा म्याग्नेसियम ग्लाइसिनेटका सम्बन्धमा विभागमा सूचीकृत नभई विभिन्न सञ्चारमाध्यमबाट उपभोक्तालाई भ्रमित पार्ने खालका श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापनलगायतका सामग्री प्रसारण भइरहेको जनाएको छ।

सामाजिक सञ्जालमार्फत स्वास्थ्यसम्बन्धी दाबी, विज्ञापन तथा प्रचारप्रसार भइरहेको भन्दै विभागले त्यस्ता प्रचारका आधारमा उत्पादन खरिद नगर्न उपभोक्तालाई सचेत गराएको छ।

विभागका अनुसार विभागमा दर्ता नगरी पैठारी तथा बिक्री–वितरण गरिएको कसुरमा त्यस्ता उत्पादनका आयातकर्ता तथा विक्रेतालाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही गरिनेछ।

विभागले आहारपूरक तथा न्युट्रास्युटिकल उत्पादनको बिक्री–वितरण गर्दा प्रचलित कानुन तथा नियामक मापदण्ड पालना गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!