भक्तपुर/रत्न काजि प्रजापति। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा क्याथल्याब सहितको मुटुरोग उपचार सेवा सञ्चालन गर्न प्रदेश सरकारबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
मध्यपुर थिमि नगरपालिकाद्वारा संचालित अस्पतालको आइतबार अनुगमन गर्दै मुख्यमन्त्री थापामगरले हृदयघातका बिरामीको समयमै उपचार गरी ज्यान बचाउन भक्तपुरमै विशिष्टीकृत मुटुरोग उपचार सेवा आवश्यक रहेको बताए। उनले क्याथल्याब सञ्चालनका लागि प्रदेश सरकारले सहयोग गर्ने उल्लेख गर्दै नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकार तथा स्वास्थ्य संस्थाको दायित्व भएको बताए।
अनुगमनका क्रममा मुख्यमन्त्रीले अस्पतालबाट प्रवाह भइरहेका सेवाको अवस्थाबारे जानकारी लिनुका साथै उपचाररत बिरामीसँग भेट गरी उनीहरूको अनुभव र सेवाप्रतिको सन्तुष्टिबारे जानकारी लिएका थिए।
अस्पतालका मेडिकल डाइरेक्टर डा. डी. के. रोशनले दक्षिण कोरिया सरकारको सहयोगमा निर्माण भइरहेको नयाँ भवनको काम अन्तिम चरणमा पुगेको जानकारी गराउँदै अस्पताललाई १०० शय्यामा सञ्चालन गर्न प्रदेश सरकारबाट अनुमति उपलब्ध गराउन आग्रह गरे। उनका अनुसार अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्। बिरामीको बढ्दो चापलाई ध्यानमा राख्दै शय्या क्षमता विस्तार गर्नुपर्ने आवश्यकता उनले औँल्याए।
अस्पतालका प्रशासन अधिकृत रुपेश श्रेष्ठले अस्पतालले सञ्चालन गरिरहेका सेवा तथा हालसम्मका प्रगतिबारे मुख्यमन्त्रीलाई जानकारी गराएका थिए।