काठमाडौं। नेपाल औषधि उत्पादक संघ (एप्पोन) अन्तर्गतको क्वालिटी सर्कलले औषधिको गुणस्तर सुधार र अन्तर्राष्ट्रिय मापदण्डको पालनामा जोड दिँदै ‘फर्मा इन्साइट’को दोस्रो संस्करण सार्वजनिक गरेको छ।
औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रकाशन विमोचनसँगै औषधिको गुणस्तर, परीक्षण र उत्पादन प्रक्रियासम्बन्धी प्राविधिक छलफल गरिएको थियो।
प्रकाशनमा औषधि परीक्षण, उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ, प्याकेजिङ तथा भण्डारण अवधिभर गुणस्तर कायम राख्ने प्रणालीबारे सामग्री समेटिएका छन्। साथै, इन्डियन फर्माकोपिया २०२६ का प्रावधान, औषधिमा हुन सक्ने नाइट्रोसामिन अशुद्धताको पहिचान तथा नियन्त्रण र बजारमा पुगेका औषधिको निगरानीसम्बन्धी विषयलाई पनि प्राथमिकता दिइएको छ।
कार्यक्रममा डा. गौरव प्रताप सिंह जादौन, आरएस पाल र डा. बृजेश पाण्डेलगायत विज्ञले औषधिको गुणस्तर मापदण्ड, घुलनशीलता परीक्षण तथा अशुद्धताबाट उत्पन्न हुन सक्ने जोखिम व्यवस्थापनबारे प्रस्तुति दिएका थिए। कार्यक्रममा एप्पोनका अध्यक्ष विप्लव अधिकारीसहित औषधि उद्योगका प्रतिनिधिहरूको सहभागिता थियो।
विभागका महानिर्देशक भट्टराईले स्वदेशी औषधिको गुणस्तर अभिवृद्धि र अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्न यस्ता प्राविधिक प्रकाशन तथा छलफल उपयोगी हुने बताए।
क्वालिटी सर्कलकी संयोजक प्रशंसा श्रेष्ठले ‘फर्मा इन्साइट’लाई प्राविधिक ज्ञान, अनुसन्धान र औषधि उद्योगको व्यावहारिक अनुभवबीच समन्वय गर्ने प्रयासका रूपमा प्रस्तुत गरिन्।
प्रकाशनको सम्पादक मण्डलमा श्रेष्ठसँगै निष्मा बज्राचार्य, सहज न्यौपाने, आशिष खड्का, कुसुम श्रेष्ठ र ज्योत्सना पोखरेल रहेका छन्।