काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र औषधि व्यवस्था विभागले फार्मेसी समूहका अधिकृत तथा नायब सुब्बा तहका कर्मचारीको सरुवा तथा जिम्मेवारी हेरफेर गरेका छन्।
औषधि व्यवस्था विभाग, राष्ट्रिय औषधि प्रयोगशाला र स्वास्थ्य सेवा विभागमा कार्यरत कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरिएको हो।
विभाग स्रोतका अनुसार औषधि व्यवस्था विभागमा कार्यरत आठौँ तहका राजेश श्रेष्ठलाई विराटनगर सरुवा गरिएको छ। त्यस्तै, आठौँ तहका फार्मेसी अधिकृत निकेश श्रेष्ठ र मुकेन्द्र पञ्जियारलाई राष्ट्रिय औषधि प्रयोगशालामा पठाइएको छ।
स्वास्थ्य सेवा विभागमा कार्यरत सञ्जीव कट्टेललाई औषधि व्यवस्था विभागमा ल्याइएको छ भने राष्ट्रिय औषधि प्रयोगशालामा कार्यरत वर्षा शाक्यलाई स्वास्थ्य सेवा विभागमा पठाइएको छ।
यसैगरी, सातौँ तहका केशु गिरी र अच्युत रेग्मीलाई औषधि व्यवस्था विभागबाट राष्ट्रिय औषधि प्रयोगशालामा सरुवा गरिएको छ। प्रयोगशालामा कार्यरत निशा श्रेष्ठ, अरविन्द बानियाँ र सुस्मिता मरासिनीलाई औषधि व्यवस्था विभागमा ल्याइएको छ। औषधि व्यवस्था विभागमा प्रशासनतर्फ कार्यरत नायब सुब्बा विष्णु रायमाझीको पनि सरुवा भएको छ।
त्यस्तै, फार्मेसी सुपरभाइजर पदमा कार्यरत सुष्मा थपलिया, रेणु पौडेल र विकास बाबु श्रेष्ठलाई औषधि व्यवस्था विभागबाट राष्ट्रिय औषधि प्रयोगशालामा पठाइएको छ। प्रयोगशालामा कार्यरत सिर्जना पोखरेल र प्रविण राजवंशीलाई भने औषधि व्यवस्था विभागमा सरुवा गरिएको छ।