काठमाडौं । विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर आपत्ति जनाएको छ।
शुक्रबार कार्यालय समय सकिएपछि सादा पोशाकका प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको घटनामा पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पूर्जी नदेखाइएको र अदालतको अनुमति लिइएको नदेखिएको भन्दै काउन्सिलले प्रश्न उठाएको हो।
लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि भएको यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको काउन्सिलको ठहर छ। प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएको यस घटनाप्रति काउन्सिलले चिन्ता व्यक्त गरेको छ।
समाचार सामग्रीप्रति असहमति वा पत्रकार आचारसंहितासम्बन्धी उजुरी भए त्यसको छानबिन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिल नेपालको रहेको उल्लेख गर्दै काउन्सिलले स्थापित विधि र प्रक्रियाबाट समस्या समाधान गर्न सरकार, प्रहरी प्रशासन र सम्बन्धित पक्षलाई आग्रह गरेको छ।
काउन्सिलले नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न तथा कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए तत्काल रिहा गर्न माग गरेको छ।
साथै, पत्रकार तथा सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्न र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न पनि काउन्सिलले अनुरोध गरेको छ।