काठमाडौं–भक्तपुर रुटमा रात्रिकालीन बिद्युतीय साझा बस सञ्चालनको तयारी

मध्यपुर थिमि/ रत्न काजि प्रजापति।

काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्ने उद्देश्यले काठमाडौं महानगरपालिका र मध्यपुर थिमि नगरपालिकाबीच काठमाडौं–भक्तपुर रुटमा विद्युतीय साझा बस सञ्चालन गर्ने विषयमा छलफल भएको छ।

मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र काठमाडौं महानगरपालिकाका कार्यवाहक नगर प्रमुख सुनिता डंगोलबीच आज मध्यपुर थिमि नगरपालिकामा भएको छलफलमा नागरिकलाई रातिको समयमा पनि सुरक्षित, सहज र भरपर्दो सार्वजनिक यातायात सेवा उपलब्ध गराउने विषयमा स्थानीय तहबीच सहकार्य गर्नेबारे छलफल भएको हो।

प्रस्तावित रात्रिकालीन बस सेवा यहि असोज ३ गते देखि राति ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने र काठमाडौं–भक्तपुरको अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायकसम्म सेवा विस्तार गरिने छ।

उक्त छलफलमा मध्यपुर थिमि नगरपालिकाका नगर उपप्रमुख विजय श्रेष्ठको समेत उपस्थिति रहेको थियो। रात्रिकालीन सार्वजनिक यातायात सञ्चालनमा आएमा साँझ अबेरसम्म काम गर्ने कर्मचारी, व्यवसायी, विद्यार्थी तथा सर्वसाधारणलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ।

स्थानीय तहबीचको समन्वयमा सञ्चालन हुने यस्तो सेवाले काठमाडौं उपत्यकामा सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउनुका साथै निजी सवारीसाधनमा निर्भरता घटाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!