काठमाडौँ । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट कृषि तथा पशुपन्छी क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति भएको राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन (आरएनडिएन) प्रतिवेदनले देखाएको छ ।
प्रतिवेदन अनुसार बाढीबाट धान खेतीतर्फ एक हजार ६६९ हेक्टर क्षेत्र प्रभावित भएको छ । यसबाट पाँच हजार ८४३ टन धान उत्पादनमा क्षति पुगेको अनुमान छ । तरकारी खेतीतर्फ १३७ हेक्टर क्षेत्र प्रभावित हुँदा करिब एक हजार ८४३ टन उत्पादनमा क्षति पुगेको छ ।
धान खेतीतर्फ नुवाकोटको विदुर सबैभन्दा बढी प्रभावित भएको देखिन्छ । विदुरमा मात्रै ७०० हेक्टर क्षेत्र प्रभावित हुँदा दुई हजार ४५० टन धान उत्पादनमा क्षति पुगेको छ । त्यस्तै, लिखुमा २३० हेक्टरबाट ८०५ टन र बेलकोटगढीमा २०० हेक्टरबाट ७०० टन धानमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।
रसुवाको गोसाइँकुण्डमा १४० हेक्टर र उत्तरगयामा १४३ हेक्टर धान खेती प्रभावित भएको छ । धादिङका बेनीघाट रोराङ, गजुरी, सिद्धलेक तथा गल्छीलगायत स्थानीय तहमा पनि धान खेतीमा क्षति पुगेको जनाइएको छ ।
तरकारीतर्फ नुवाकोटको विदुरमा ९८ हेक्टर क्षेत्र प्रभावित हुँदा एक हजार ३२३ टन उत्पादनमा क्षति पुगेको छ । धादिङका बेनीघाट रोराङ, गजुरी, सिद्धलेक र गल्छीमा पनि तरकारी खेती प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ ।
पशुपन्छीतर्फ रु १११ करोडभन्दा बढी क्षति: कुखुराको सङ्ख्या सबैभन्दा धेरै
बाढीबाट पशुपन्छी क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ । प्रतिवेदनअनुसार कुल दुई लाख ५२ हजार ४४५ पशुपन्छी प्रभावित भएका छन् । पशुपन्छीको अनुमानित क्षति रु १११ करोड ३९ लाख रहेको छ ।
प्रभावित पशुपन्छीमध्ये कुखुराको सङ्ख्या सबैभन्दा धेरै छ । बाढीबाट दुई लाख १४ हजार ८२७ कुखुरा प्रभावित भएका छन् । यद्यपि मूल्यका आधारमा भैंसी, बाख्रा–च्याङ्ग्रा र गाईगोरुको क्षति बढी देखिएको छ ।
भैंसीतर्फ रु ४५ करोड ७२ लाख, बाख्रा–च्याङ्ग्रातर्फ रु ३९ करोड १३ लाख र गाईगोरुतर्फ रु १७ करोड ९२ लाख क्षति भएको अनुमान छ । त्यस्तै, बङ्गुर–बँदेल, भेडा, अन्य पशु तथा चरामा पनि क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।
कुल पशुधन क्षतिमध्ये भैंसी, बाख्रा–च्याङ्ग्रा र गाईगोरुबाट मात्रै ९२.३ प्रतिशत क्षति भएको देखिन्छ । यसले बाढीबाट कृषकको आम्दानी, खाद्य उत्पादन र ग्रामीण अर्थतन्त्रमा गम्भीर असर परेको देखाएको छ ।
नुवाकोट, धादिङ, रसुवा र गोरखाका विभिन्न स्थानीय तहमा कृषि तथा पशुपन्छी क्षेत्रमा क्षति पुगेको प्रतिवेदनले जनाएको छ । बाढी प्रभावित कृषकलाई राहत, पुनर्स्थापना तथा कृषि उत्पादन पुनःस्थापनाका कार्यक्रम आवश्यक देखिएको छ ।