पोखरा / रत्न काजि प्रजापति ।
प्रोटिनको महत्व, पोषण, शारीरिक तन्दुरुस्ती तथा स्वस्थ जीवनशैलीबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पोखरामा ‘राइट टु प्रोटिन रन २०२६’ आयोजना हुने भएको छ।
नेपाल दाना उद्योग संघ (NFIA) को आयोजनामा तथा यूएस सोयाबिन एक्सपोर्ट काउन्सिल (USSEC) को प्रमुख प्रायोजनमा आगामी असोज ३ गते शनिबार पोखरा लेकसाइडस्थित बसुन्धरा पार्कबाट दौड सुरु हुनेछ। आयोजकका अनुसार राइट टु प्रोटिन रनमा नेपाल सहित १० राष्ट्रका ४ हजार १ सय ६ जना धावकको सहभागिता सुनिश्चित भएको छ।
‘प्रोटिनका लागि दौडौं, स्वास्थ्यका लागि दौडौं, स्वस्थ नेपालका लागि दौडौं’ भन्ने नारासहित आयोजना हुने कार्यक्रमलाई आयोजक संघले दौड प्रतियोगिता मात्र नभई पोषण र स्वस्थ जीवनशैलीबारे जनचेतना फैलाउने अभियानका रूपमा अघि बढाएको जनाएको छ।
नेपालमा पोषण तथा खाद्य सुरक्षासँग सम्बन्धित चुनौतीका बीच दैनिक आहारमा पर्याप्त र गुणस्तरीय प्रोटिनको पहुँच तथा त्यसको महत्वबारे जनचेतना बढाउन आवश्यक रहेको आयोजकको भनाइ छ। शरीरको वृद्धि, मांसपेशी निर्माण तथा मर्मत, रोग प्रतिरोधात्मक क्षमता र शारीरिक सक्रियताका लागि प्रोटिन महत्वपूर्ण पोषक तत्व मानिन्छ।
यूएस सोयाबिन एक्सपोर्ट काउन्सिल (USSEC) का नेपाल प्रतिनिधि डा. अशेष भट्टराईले प्रोटिन स्वस्थ जीवनका लागि अत्यावश्यक भए पनि यसको महत्वबारे आम नागरिकमा अझै पर्याप्त सचेतना आवश्यक रहेको बताउनुभयो। उहाँले पर्याप्त र गुणस्तरीय प्रोटिनको सेवनसँगै नियमित शारीरिक गतिविधिलाई स्वस्थ जीवनशैलीको महत्वपूर्ण आधारका रूपमा लिनुपर्नेमा जोड दिनुभयो। ‘राइट टु प्रोटिन रन’ दौड प्रतियोगितामात्र नभई प्रोटिन, पोषण र शारीरिक तन्दुरुस्तीबारे जनचेतना फैलाउने अभियान भएको उहाँको भनाइ छ।
“दौडमार्फत मानिसलाई स्वस्थ खानपान र सक्रिय जीवनशैलीतर्फ प्रेरित गर्ने हाम्रो उद्देश्य हो। अण्डा, दूध, मासु, माछा, सोया, दाल तथा गेडागुडीजस्ता सहजै उपलब्ध खाद्य पदार्थबाट प्रोटिन प्राप्त गर्न सकिन्छ,” डा. भट्टराईले भन्नुभयो।
उहाँले पोखरामा आयोजना हुने रनमा देश तथा विदेशबाट ठूलो संख्यामा सहभागी हुनु सकारात्मक सन्देश भएको बताउँदै यस अभियानले विशेषगरी युवा पुस्तालाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।
आठ विधामा प्रतिस्पर्धा
यस वर्षको दौडमा हाफ म्याराथन पुरुष तथा महिला, खुला दौड पुरुष तथा महिला, कक्षा १२ सम्मका युवा पुरुष तथा महिला र ह्विलचेयर पुरुष तथा महिला गरी आठ विधामा प्रतिस्पर्धा हुनेछ।
हाफ म्याराथन पुरुषतर्फ २१ किलोमिटरमा ४०६ जना र महिलातर्फ ६४ जना सहभागी हुनेछन्। खुला पुरुष १० किलोमिटरमा ९८८ तथा महिला ५ किलोमिटरमा ३९७ जनाको सहभागिता रहनेछ।
त्यस्तै, कक्षा १२ सम्मका युवा पुरुष ५ किलोमिटरमा १ हजार ६५८ र महिला ३ किलोमिटरमा ५५३ जना सहभागी हुनेछन्। ह्विलचेयर पुरुष तथा महिला ३ किलोमिटरमा क्रमशः २४ र १६ जनाको सहभागिता रहने आयोजकले जनाएको छ।
प्रतियोगिताका प्रत्येक विधाका उत्कृष्ट पाँच धावकलाई गरी कुल १६ लाख रुपैयाँ (करसहित) नगद पुरस्कार प्रदान गरिनेछ।
पोखरालाई खेलकुद र स्वास्थ्य पर्यटनसँग जोड्ने प्रयास
दौड बसुन्धरा पार्कबाट सुरु भई हल्लनचोक, खहरे, सेदी, खपौदी, पामे हुँदै लौरुकसम्म पुगेर पुनः सोही मार्ग हुँदै बसुन्धरा पार्कमा आएर सम्पन्न हुनेछ।
आयोजकले खेलकुदमार्फत स्वास्थ्य, पर्यटन र कृषिलाई जोड्दै पोखरालाई खेलकुद तथा स्वास्थ्य पर्यटनको गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको जनाएको छ। साथै उत्कृष्ट खेलाडी उत्पादन तथा नयाँ र उदीयमान धावकलाई अवसर प्रदान गर्ने उद्देश्यसमेत कार्यक्रमको रहेको छ।
सन् २०१९ देखि सञ्चालन हुँदै आएको ‘राइट टु प्रोटिन रन’ अभियानले पोषणसम्बन्धी विषयलाई सभा तथा सम्मेलनमा मात्र सीमित नराखी दौड, खेलकुद र सार्वजनिक सहभागितामार्फत समुदायस्तरसम्म पुर्याउँदै आएको आयोजकको भनाइ छ।
सहभागीलाई प्रोटिनयुक्त खाजा, बीमा र स्वास्थ्य सुरक्षा
दौडमा सहभागी सबैलाई टि–सर्ट तथा प्रोटिनयुक्त खाजाको व्यवस्था गरिएको छ। खाजामा चिकेन, अण्डा, भटमास, मह र केरा समावेश गरिनेछ।
कार्यक्रममा सहभागी सबैको बीमा गरिनेछ भने २०० जना स्वयंसेवक परिचालन गरिने आयोजकले जनाएको छ। दौड मार्गमा १० वटा हाइड्रेसन स्टेसन, सातवटा एम्बुलेन्स तथा कडा सुरक्षा व्यवस्था मिलाइएको छ।
सोही दिन लायन्स क्लबको सहयोगमा रक्तदान कार्यक्रमसमेत सञ्चालन गरिनेछ।
कार्यक्रमलाई नेपाल एथलेटिक्स संघले प्राविधिक सहयोग गर्नेछ। नेपाली युवा उद्यमी मञ्च पोखरा (NYEF), नेपाल ह्याचरी उद्योग संघ, नेपाल लेयर्स कुखुरापालक संघ, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन, लायन्स क्लब, नेपाल पोल्ट्री महासंघलगायत विभिन्न संघसंस्थाको सहभागिता रहनेछ।
बाढीपीडितका लागि ३ करोडभन्दा बढी सहयोग
NFIA का सदस्य उद्योगहरूको तर्फबाट भाद्र १० गते गएको बाढीबाट प्रभावित क्षेत्रको पुनर्स्थापना तथा राहतका लागि ३ करोड १७ लाख ८४ हजार ७ सय १ रुपैयाँ सहयोग हस्तान्तरण गरिसकिएको संघले जनाएको छ।
त्यसपछि थप ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको पनि संघले जनाएको छ।
कार्यक्रमको तयारी पूरा
‘राइट टु प्रोटिन रन २०२६’ असोज ३ गते शनिबार बिहान पोखरा लेकसाइडस्थित बसुन्धरा पार्कबाट सुरु हुनेछ। सहभागीलाई टि–सर्ट तथा किट वितरण भाद्र ३१ र असोज १ गते पोखरा इभेन्ट सेन्टरमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म गरिनेछ।
आयोजकका अनुसार नेपालसहित भारत, चीन, संयुक्त राज्य अमेरिका, डेनमार्क, केन्या, फ्रान्स, दक्षिण कोरिया, जर्मनी र इङ्ल्याण्डका धावकको सहभागिता रहनेछ।
नेपाल दाना उद्योग संघका अध्यक्ष उमेश चन्द्र सापकोटाका अनुसार कार्यक्रमको मुख्य उद्देश्य दौडमार्फत नागरिकलाई प्रोटिनको महत्व, स्वस्थ खानपान र नियमित शारीरिक गतिविधिबारे सचेत गराउनु हो।
“प्रोटिनका लागि दौडौं, स्वास्थ्यका लागि दौडौं, स्वस्थ नेपालका लागि दौडौं” भन्ने मूल सन्देशसहित हुने यस अभियानले स्वस्थ र सक्रिय समाज निर्माणमा योगदान पुर्याउने आयोजकको अपेक्षा छ।