मध्यपुर थिमि नगर कार्यपालिकाका पाँच निर्णय : कक्षा १ देखि ५ सम्म स्थानीय पाठ्यक्रम लागू गरिने

मध्यपुर थिमि/रत्न काजि प्रजापति ।

मध्यपुर थिमि नगरपालिकाले कक्षा १ देखि ५ सम्मको एकीकृत स्थानीय पाठ्यक्रम स्वीकृत गर्ने निर्णय गरेको छ। नगर प्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको नगर कार्यपालिकाको बैठकले स्थानीय पाठ्यक्रमसँगै शिक्षा, स्वास्थ्य, पार्क व्यवस्थापन तथा सुशासनसँग सम्बन्धित विभिन्न निर्णय गरेको हो।

नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यद्वारा जारी प्रेस विज्ञप्तिअनुसार बैठकले स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीको प्रारम्भिक नतिजा पृष्ठपोषणका लागि जिल्ला समन्वय समिति, भक्तपुरमा पठाउने निर्णय गरेको छ।

त्यसैगरी, वडा नम्बर ५ स्थित हात्तिमहांकाल बहुउद्देश्यीय पार्कको बहुवर्षीय ठेक्का अनुमोदन गर्ने निर्णय बैठकले गरेको छ।

नगरपालिकाभित्र सञ्चालन हुने बाल क्लबको नमुना विधानसमेत स्वीकृत गर्ने निर्णय भएको छ। यसले नगर क्षेत्रका बाल क्लबहरूको सञ्चालन तथा व्यवस्थापनका लागि आधार तयार गर्ने अपेक्षा गरिएको छ।

बैठकले नगरपालिकाका नागरिकलाई आवश्यक परेको अवधिसम्म निःशुल्क रूपमा शववाहन सेवा उपलब्ध गराउने निर्णय पनि गरेको छ। उक्त सेवा सञ्चालनका लागि चालु आर्थिक वर्षमा वडा नम्बर ४ तर्फ विनियोजित बजेट नेपाल रेडक्रस सोसाइटी, मध्यपुर शाखालाई अनुदानका रूपमा उपलब्ध गराउने निर्णय गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, नगरपालिकाले कक्षा १ देखि ५ सम्मको एकीकृत स्थानीय पाठ्यक्रम स्वीकृत गर्ने निर्णय गरेको छ। स्थानीय आवश्यकता, ज्ञान, सीप, कला तथा संस्कृतिलाई शिक्षासँग जोड्ने उद्देश्यले स्थानीय पाठ्यक्रम कार्यान्वयनको बाटो खुलेको नगरपालिकाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!