निलम्बनको उल्लंघनपछि डा. टिकाराम न्यौपानेको दर्ता खारेज: पशु चिकित्सा परिषद्को कडा कदम

काठमाडौं, २० जेठ २०८२:

नेपाल पशु चिकित्सा परिषद्ले डा. टिकाराम न्यौपानेको नाम दर्ता किताबबाट हटाउने निर्णय गर्दै उनीमाथि कडा कारबाही गरेको छ। परिषदका अनुसार न्यौपानेले निलम्बनको अवस्थामै गैरकानुनी रूपमा भेटेरिनरी प्रमाणपत्र जारी गरेको, रोगी पशुहरूलाई ‘निरोगी’ घोषित गरेको तथा पेसागत आचारसंहिताको गम्भीर उल्लंघन गरेको पुष्टि भएको हो।

२०७५ सालको नेपाल पशु चिकित्सा परिषद् ऐन र २०७९ को नियमावलीको आधारमा परिषद्को ३५४  औं बैठकमा गरिएको निर्णयअनुसार, न्यौपानेको दर्ता नं. २२३ खारेज गरिएको हो। परिषद्ले यो निर्णय २०८२ जेठ २० मा सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक रूपमा प्रकाशित गरेको छ।

निलम्बनको अवज्ञा गर्दै प्रमाणपत्र जारी

डा. न्यौपाने यसअघि २०८१ फागुन २१ गते दुई महिनाको लागि निलम्बनमा परेका थिए। तर, उनले निलम्बनको अवधिमा पनि भेटेरिनरी प्रमाणपत्र जारी गरेका थिए।

पेशागत मर्यादामाथि गम्भीर आँच

परिषद्को सूचनामा उल्लेख गरिएको छ कि डा. न्यौपानेले दफा १४ (१)(ख) तथा विनियमावली २०७९ अन्तर्गतका नियम ३ को उपनियम (५), (६), (१०), (१६) र नियम ४ को उपनियम (२) का खण्ड (क), (ख), (घ), (ङ) जस्ता कानुनी व्यवस्थाहरूको उल्लंघन गरेका छन्।

यी गतिविधिहरूले पशु स्वास्थ्यमाथि गम्भीर जोखिम निम्त्याएको, भेटेरिनरी पेशाको प्रतिष्ठामा आँच पु¥याएको र जनस्वास्थ्यमा समेत प्रभावित पार्ने खतरा रहेको भन्दै परिषद्ले यो कडा कदम चाल्नु परेको जनाएको छ।

अब पशु चिकित्सकीय अभ्यास गर्न नपाउने

परिषद्ले स्पष्ट रूपमा जनाएको छ कि अब डा. न्यौपानेले नेपालभित्र कुनै पनि भेटेरिनरी सेवा दिन सक्ने छैनन्। दर्ता खारेज भएसँगै उनी पेशागत रूपमा अयोग्य ठहरिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!