काठमाडौं, २६ असार २०८२ः
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन क्षेत्रमा अब खादा, माला, टोपीलगायत संकेत झल्काउने कुनै पनि पहिरन वा वस्तु प्रयोग गर्न नपाइने भएको छ। अध्यागमन विभागले बुधबार एक सूचना जारी गर्दै सुरक्षा र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस्तो निर्णय लिएको जानकारी गराएको हो।
अत्यन्त संवेदनशील र सुरक्षासम्बन्धी क्षेत्रको रूपमा चिनिने अध्यागमन कक्षमा कुनै पनि किसिमको अनावश्यक भीड, अवाञ्छनीय गतिविधि र पहिचानजन्य विभेदलाई न्यूनीकरण गर्न विभागले यस्तो कडाइ गरेको हो। जारी सूचनामा स्पष्ट रूपमा उल्लेख गरिएको छ कि अबदेखि अध्यागमन प्रक्रियाका क्रममा यात्रु वा उनीहरूलाई साथ दिने व्यक्तिहरूले खादा, माला, सस्कार, फरक डिजाइनको टोपी वा यस्ता कुनै पनि पहिचान झल्काउने वस्तु प्रयोग गर्न पाउने छैनन्।
यसअघि यात्रुलाई स्वागत गर्न खादा ओढाउने, समूहगत टोपी वा पहिरनमार्फत आन्तरिक प्रतिनिधित्व देखाउने जस्ता अभ्यासले अध्यागमन क्षेत्रको सुरक्षामा प्रश्न उठाउँदै आएको थियो। यस्तो अभ्यासले सुरक्षा संयन्त्रमा अनावश्यक दबाब, काममा ढिलाइ र यात्रुबीच भेदभावको सम्भावना बढाउने देखिएको विभागको भनाइ छ।
अध्यागमन कार्यालयले यात्रु, ट्राभल एजेन्सी, टुर गाइड तथा एयरलाइन कम्पनीहरूलाई सूचित गर्दै यस निर्णयको पूर्ण पालना गर्न अनुरोध गरेको छ। नियमको उल्लंघन भएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
विभागले सबै पक्षलाई अध्यागमन प्रक्रियालाई सहज, सुरक्षित र मर्यादित बनाउन सहयोग गर्न आग्रह गरेको छ।
