भक्तपुर जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषित

भक्तपुर, २८ असार २०८२ः

“स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता : पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ भक्तपुर जिल्ला पूर्ण खोप सुनिश्चितता र दिगोपना कार्यक्रम अन्तर्गत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले गमलामा पानी हालेर औपचारिक रुपमा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन। कार्यक्रममा प्रदेश सांसद सुरेश श्रेष्ठ, धन्यश्वरी प्रजापति, भावना श्रेष्ठ, स्वास्थ्य निर्देशक डा. नरेन्द्रकुमार झा, डा. सुमित्रा गौतमलगायतले अभियानको प्रभाव र आवश्यकता माथि प्रकाश पारे।

सभाध्यक्ष ईश्वर थापा (जिल्ला समन्वय समिति प्रमुख) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जनस्वास्थ्य कार्यालय प्रमुख अञ्जना खड्का, खोप अधिकृत रुपा प्याठ लगायतले खोप कार्यक्रमबारे विवरण प्रस्तुत गरे। कार्यक्रममा भक्तपुर जिल्लाका ४ वटै नगरपालिकाका स्वास्थ्यकर्मी, स्वयंसेवकहरूलाई सम्मान गरिएको थियो।

जनस्वास्थ्य कार्यालय भक्तपुरले १५ महिनामुनिका सबै बालबालिकालाई आधारभूत खोप उपलब्ध गराई जिल्लाका ३८ वडाहरु तथा ४ वटा स्थानीय तहहरू (भक्तपुर, सूर्यविनायक, मध्यपुर थिमी र चाँगुनारायण) लाई पूर्ण खोप सुनिश्चितता प्रमाणित गरेको हो।

२०७१ सालको निर्देशिका अनुसार २०७८ चैतदेखि २०८२ बैशाखसम्म घरधुरी सर्वेक्षण गरिँदा १५ महिना मुनिका ४,७१४ र १६–२३ महिनाका ५,९०६ बालबालिकाहरू पहिचान गरिए। तीमध्ये ५,८९९ जनालाई पूर्ण खोप प्रदान गरिएको छ।

नगर अनुसार विवरण यसप्रकार छ:

भक्तपुर नगरपालिका: ८०९ (१५ महिना मुनि), ७२० (१६–२३ महिना) मध्ये सबैलाई खोप

मध्यपुर थिमी: १,३५५ (१५ मुनि), २,९१५ (१६–२३ महिना) मध्य २,९०७ लाई खोप

सूर्यविनायक: १,४५५ (१५ मुनि), १,३५३ (१६–२३) सबैलाई खोप

चाँगुनारायण: १,०९५ (१५ मुनि), ९१८ (१६–२३) सबैलाई खोप

मध्यपुर थिमीमा १६–२३ महिनाका ८ जना बालबालिका ड्रपआउट भएको तथा एक जनालाई शून्य डोज मात्र रहेको जनाइएको छ।

यस कार्यक्रमले बाल मृत्युदर घटाउने, बालबालिकालाई रोगबाट सुरक्षित राख्ने, र दीगो विकास लक्ष्यमा टेवा पुर्‍याउने उद्देश्य राखेको छ। यसै वर्षबाट १५ वर्षमुनिका बालिकाहरूका लागि पाठ्यघरमा हुने क्यान्सरविरुद्धको HPV खोप कार्यक्रम पनि सुरु गरिएको छ।

पूर्ण खोप सुनिश्चितता र दिगोपना अभियानले बालबालिकाको स्वस्थ भविष्य निर्माणमा नयाँ आधार तयार गरेको आयोजकहरुको विश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!