जेन्यूइन सेकेण्डरी स्कूलको तीन दशकः भव्य वार्षिकोत्सवको तयारी

भक्तपुर, १७ भाद्र २०८२ः

भक्तपुरस्थित जेन्यूइन सेकेण्डरी स्कूलले यस वर्ष आफ्नो ३० औं वार्षिकोत्सव भव्यताका साथ मनाउने भएको छ । वि.सं. २०५१ फागुनमा शिक्षा ऐन २०२८ बमोजिम स्थापना भएको विद्यालयले तीन दशकमा शैक्षिक तथा सामाजिक दायित्वमा उल्लेखनीय योगदान गरेको जनाएको छ ।

विद्यालयले स्थापना कालदेखि नै गुणस्तरीय शिक्षाका साथै अन्तर्राष्ट्रिय अभ्यासलाई समेत आत्मसात गर्दै आएको जनाएको छ । खेल्दै–सिक्ने Playway Method, कम्प्युटर शिक्षा, विद्यालय बुलेटिन Gess Info-Bulletin को नियमित प्रकाशन, चिनियाँ भाषा शिक्षण लगायतका कार्यक्रमलाई निरन्तरता दिँदै आएको विद्यालयले अतिरिक्त क्रियाकलापमा पनि खेलकुद, संगीत, चित्रकला, नृत्य लगायतका गतिविधि सञ्चालन गर्दै आएको छ ।

विद्यालयका अनुसार बालमैत्री शिक्षण पद्धति, Beyond Text Book अभियान, शैक्षिक भ्रमण, पुस्तक अध्ययन तथा लेखकसँग संवादजस्ता अभ्यासमार्फत विद्यार्थीलाई केवल अंकमा मात्र होइन, व्यवहारिक ज्ञानमा पनि सशक्त बनाउन निरन्तर प्रयास हुँदै आएको छ । यस अवधिमा विद्यालयका केही विद्यार्थीले ४ जिपिए समेत हासिल गरेका छन् ।

शिक्षकलाई पेशागत रूपमा सुदृढ बनाउन विद्यालयले नियमित तालिम, पुस्तक अध्ययन र छलफल कार्यक्रम सञ्चालन गर्दै आएको छ भने शिक्षक तथा कर्मचारीका लागि सामुदायिक विद्यालय सरहको सुविधा, संचय कोष र आउटिङ्ग कार्यक्रमको व्यवस्था गरेको छ ।

विद्यालयले सामाजिक दायित्वअन्तर्गत विश्व वातावरण दिवसमा याली, हेपाटाइटिस बी महामारीका बेला जनचेतनामूलक पर्चा वितरण, सिमाना मिचिएकामा विरोध जुलुस, स्थानीय सम्पदा संरक्षण तथा महाकाली नाच टोलीको व्यवस्थापन जस्ता गतिविधिलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

३० औं वार्षिकोत्सव विशेष समारोह अन्तर्गत बुद्ध शिक्षा र दर्शनमा केन्द्रित दुई दिने सेमिनार, विद्यालय बुलेटिनमा प्रकाशित लेखहरुको संग्रह, दीर्घ सेवा गरेका शिक्षक–कर्मचारी र समाजसेवीको सम्मान, मादल प्रतियोगिता, राष्ट्रप्रेमसम्बन्धी गीत प्रतियोगिता लगायतका कार्यक्रम हुनेछन् । साथै सम्पदा संरक्षणमा सक्रिय युवालाई ‘जेस संस्कृति सम्पदा सिरपा २०८२’ बाट पुरस्कृत गर्ने परम्पराको शुभारम्भ पनि यतिबेलै हुने बार्षिकोत्सब मुल समारोह समितिका संयोजक योगेन्द्र मान बिजुक्छेले जानकारी दिए।

कार्यक्रमको उद्घाटन असोज २५ गते हुने र समापन तिहारलगत्तै कार्तिक ८ वा १० गते गर्ने तयारी गरिएको विद्यालयले जानकारी दिएको छ । विद्यालयले यस अवसरमा सबै सरोकारवालाहरुलाई सहयोग, सद्भाव र सुझावका लागि आह्वान समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!