नेपालमा उत्पादन हुने अण्डा अब एन्टीबायोटिक रहित

चितवन, १६ भदौ २०८२:

नेपालमा उत्पादन हुने अण्डा एन्टीबायोटिक रहित हुन थालेका छन् । सरकारले कुखुरामा एन्टीबायोटिक प्रयोग गर्न रोक लगाएपछि किसान र पशु चिकित्सकहरूले वैकल्पिक उपाय अपनाउँदै अण्डा उत्पादन गर्न थालेका हुन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरका उपप्राध्यापक डा. अनन्त दाहालका अनुसार नेपालका अधिकांश पोल्ट्री फार्महरूले अहिले एन्टीबायोटिक प्रयोग गर्न छाडेका छन् । उनले परामर्श दिइरहेको नवलपरासीस्थित दाउन्ने एग्रो फार्ममा पूर्णरूपमा एन्टीबायोटिक निषेध गरिएको जानकारी दिए । डा. दाहालले भने, “पहिले दाना र पानीमा एन्टीबायोटिक प्रयोग गरिन्थ्यो, तर अहिले खोप र जडीबुटीजन्य खुराकमार्फत रोग नियन्त्रण भइरहेको छ ।”

उनका अनुसार अघिल्लो अभ्यासमा एन्टीबायोटिक प्रयोग गरिएको अण्डामा केही मात्रा मानिससम्म पुग्ने र त्यसले मानव स्वास्थ्यमा असर गर्ने गर्थ्यो । तर अहिले प्रयोग भइरहेको भ्याक्सिनले रोग नियन्त्रण गर्ने मात्र नभई कुखुराको स्वास्थ्य सुधार गर्ने भएकाले अण्डामा कुनै असर नपुग्ने स्पष्ट पारे ।

नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले संघअन्तर्गतका फार्महरूमा एन्टीबायोटिक प्रयोग बन्द भएको बताए । उनका अनुसार जोखिम र खर्च बढे पनि गुणस्तरीय तथा स्वास्थ्यप्रद अण्डा उत्पादनमा जोड दिइएको छ । पोखरेलले भने, “मानव स्वास्थ्यलाई ख्याल गर्दै हामीले भ्याक्सिन र हर्बल खुराकमार्फत अण्डा उत्पादन गरिरहेका छौँ ।”

Adv

त्यस्तै, नेपाल अण्डा उत्पादक संघका पूर्वअध्यक्ष त्रिलोचन कँडेलले पनि नेपालमा उत्पादन हुने अण्डा एन्टीबायोटिकरहित भएको दाबी गर्दै सीमा क्षेत्रमा आयात हुने अण्डाको गुणस्तरबारे भने सुनिश्चित नभएको बताए ।

फिजिसियन डा. भोजराज अधिकारीले कुखुरामा हुने रोग अण्डामा नपुग्ने उल्लेख गर्दै, एन्टीबायोटिकरहित अण्डा मानव स्वास्थ्यका लागि अझ उपयोगी हुने बताए ।

यससँगै नेपालमा एन्टीबायोटिकरहित अण्डा उत्पादनले नयाँ ढाँचा लिएको छ भने उपभोक्ताले अझ सुरक्षित र स्वास्थ्यप्रद अण्डा पाउने विश्वास गरिएको छ ।
स्रोत: रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!