काठमाडौं/रत्न काजि प्रजापति। नेपाल औषधि व्यवसायी संघ, काठमाडौं जिल्ला शाखाले बिना दर्ता तथा अनुमति औषधि पसल सञ्चालन गर्ने, फर्मासिष्ट तथा फार्मेसी सहायकको लाइसेन्स अरूलाई प्रयोग गर्न दिने र अनुगमन छल्ने गतिविधि नगर्न व्यवसायीहरूलाई चेतावनी दिएको छ।
औषधि व्यवस्था विभागको अनुगमन तथा निरीक्षण महाशाखाका प्रमुख शम्भु शाहसहितका निरीक्षक र संघका पदाधिकारीबीच २०८३/०५/३० गते भएको छलफलपछि संघले यस्तो आग्रह गरेको हो।
छलफलमा काठमाडौंमा औषधि बिक्री–वितरणको अवस्था तथा विभागमा प्राप्त गुनासोबारे समीक्षा गरिएको थियो। संघका अनुसार बिना दर्ता औषधि पसल सञ्चालन गर्ने र फर्मासिष्ट वा फार्मेसी सहायकले आफ्नो नाममा रहेको लाइसेन्स वा व्यावसायिक प्रमाणपत्र अरूलाई प्रयोग गर्न दिने विषयमा गुनासो प्राप्त भएका छन्।
संघले आफ्नो लाइसेन्स भाडामा दिने, आफू उपस्थित नभई आफ्नो प्रमाणपत्रका आधारमा अरूबाट फार्मेसी सञ्चालन गराउने तथा अनुगमन छल्न बिहान–बेलुका वा सार्वजनिक बिदाका दिन मात्र पसल सञ्चालन गर्ने प्रवृत्ति रोक्न आग्रह गरेको छ।
त्यस्तै, औषधि ऐन–२०३५, औषधि बिक्री वितरण संहिता–२०८० लगायत प्रचलित कानूनको पूर्ण पालना गर्दै औषधि बिक्री–वितरण गर्न व्यवसायीलाई भनिएको छ। विशेषगरी लागुऔषध, चिकित्सकको पुर्जा आवश्यक पर्ने औषधि तथा एन्टिबायोटिकको अनधिकृत बिक्री नगर्न संघले सचेत गराएको छ।
संघले दर्ता तथा अनुमति नभएका औषधि पसलमा औषधि आपूर्ति नगर्न थोक व्यवसायीलाई समेत आग्रह गरेको छ। सम्बन्धित खुद्रा व्यवसायीको वैध दर्ता तथा अनुमति सुनिश्चित गरेर मात्र औषधि आपूर्ति गर्न संघले अनुरोध गरेको छ।
गैरकानुनी गतिविधि फेला परेमा प्रचलित कानूनअनुसार औषधि जफत, पसल बन्द वा सिलबन्दी, जरिवाना तथा अन्य कानुनी कारबाही हुन सक्ने संघले जनाएको छ।
संघका महासचिव शुभ मान श्रेष्ठद्वारा जारी सूचनामा सम्पूर्ण खुद्रा तथा थोक व्यवसायी, फर्मासिष्ट र फार्मेसी सहायकलाई आफ्नो व्यवसाय तथा पेशागत अभ्यास तत्काल पुनरावलोकन गरी कानुनसम्मत, सुरक्षित र जिम्मेवार औषधि बिक्री–वितरण सुनिश्चित गर्न आग्रह गरिएको छ।