भ्रामक आयुर्वेदिक उपचारको प्रचार नगर्न परिषद्को चेतावनी

काठमाडौं । आयुर्वेद चिकित्सा परिषद् नेपालले दर्ता नभएका व्यक्तिले औषधि बिक्री–वितरण गर्ने तथा क्यान्सर, पाइल्सलगायत जटिल रोगको उपचारसम्बन्धी भ्रामक प्रचार–प्रसार गर्ने गतिविधि रोक्न चेतावनी दिएको छ।

परिषद्ले सोमबार सार्वजनिक गरेको सूचनामा दर्ता नभएका व्यक्तिबाट औषधि बिक्री–वितरण भइरहेको तथा विभिन्न रोगका नाम लिएर सर्वसाधारणलाई भ्रममा पार्ने किसिमका विज्ञापन र प्रचार–प्रसार हुने गरेको जनाएको छ।

परिषद्का अनुसार केही व्यक्ति तथा संस्थाले जटिल रोगसमेत निको पार्ने, उपचार नभए पैसा फिर्ता गर्ने लगायतका दाबी गर्दै भ्रामक विज्ञापन गर्ने गरेको पाइएकाले यस्ता गतिविधि कानूनविपरीत हुने जनाएको हो। यस्ता कार्य तत्काल रोक्न आग्रह गर्दै परिषद्ले १५ दिनभित्र त्यस्ता गतिविधि बन्द गर्न सम्बन्धित व्यक्ति तथा संस्थालाई निर्देशन दिएको छ। परिषद्ले सूचनाको अवज्ञा गरी यस्ता अवाञ्छनीय गतिविधि गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ।

परिषद्ले आयुर्वेद चिकित्सा तथा औषधिसम्बन्धी सेवा लिँदा सम्बन्धित व्यक्ति तथा संस्था कानूनी रूपमा दर्ता भएको–नभएकोबारे सचेत हुन सर्वसाधारणलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!