काठमाडौं । नेपाल औषधि व्यवसायी संघ, काठमाडौं जिल्ला शाखाले आमाको दूधको संरक्षण तथा प्रवर्द्धनलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरेको छ।
संघले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको अनावश्यक विज्ञापन तथा बजारीकरणमा प्रभावकारी नियमन गर्नुपर्ने जनाएको छ। साथै, चिकित्सकीय आवश्यकता भएका अवस्थामा मात्र स्वीकृत, गुणस्तरीय र सुरक्षित वैकल्पिक पोषण सहज रूपमा उपलब्ध हुने व्यवस्था गर्नुपर्ने संघको भनाइ छ।
संघले योग्य फार्मेसीलाई नियन्त्रित तथा जिम्मेवार वितरण माध्यमका रूपमा समेट्दै उत्पादनको दर्ता, गुणस्तर, म्याद, भण्डारण र बिक्री अभिलेख कायम गरी ट्रेसिबिलिटी सुनिश्चित गर्न आग्रह गरेको छ।
संघका महासचिव शुभमान श्रेष्ठ र अध्यक्ष शंकर महर्जनद्वारा जारी विज्ञप्तिमा बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर कानुनी व्यवस्था निर्माण गर्न सरकार, नियामक निकाय तथा सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ।
