काठमाडौं / रत्न काजि प्रजापति। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिक तथा पशुचौपायाको राहत, उद्धार र उपचारका लागि नेपाल पशुपन्छी औषधि पैठारीकर्ता संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख रुपैयाँ सहयोग गरेको छ।
संघका महासचिव नरेश कर्माचार्यका अनुसार भोटेकोशी बाढीबाट रसुवा, नुवाकोटलगायत जिल्लामा मानवीय तथा पशुचौपायामा ठूलो क्षति पुगेपछि प्रभावितलाई राहत तथा उपचारमा सहयोग पुर्याउने उद्देश्यले संघले उक्त रकम सहयोग गरेको हो।
महासचिव कर्माचार्यले भने, “विपद्को समयमा पीडित नागरिक र पशुचौपायालाई सहयोग गर्नु हाम्रो सामाजिक दायित्व हो। संघको तर्फबाट राहत तथा उद्धार कार्यमा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख रुपैयाँ जम्मा गरेका हौं।”
उनका अनुसार संघको अनुरोधमा संकलित रकममा संघको खाताबाट समेत थप गरी असोज ५ गते उक्त रकम कोषमा जम्मा गरिएको हो।
महासचिव कर्माचार्यले विपद् बाट प्रभावित परिवार तथा पशुचौपायाको उद्धार र उपचारका लागि सरकारी निकाय, निजी क्षेत्र तथा सम्बन्धित सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए। साथै, राहत तथा सहयोगमा हातेमालो गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि आवश्यक सहयोगका लागि संघ प्रतिबद्ध रहने उनले बताए।