फार्मेसी नीतिमा बहस गर्न ‘फार्मा पोलिसी डायलग’ : २०३५ सम्मको सुधार कार्यसूची बनाइने

विश्व फार्मासिस्ट दिवसको अवसरमा PhAN ले आयोजना गर्ने संवादमा नीति निर्माता, नियामक, उद्योग, शिक्षाविद् र स्वास्थ्य क्षेत्रका विज्ञ सहभागी हुने

काठमाडौं / रत्न काजि प्रजापति।

नेपालको फार्मेसी तथा औषधि क्षेत्रको विद्यमान नीति, कानुन, नियमन र कार्यान्वयन अवस्थामाथि व्यापक समीक्षा गर्न फार्मेसी एसोसिएसन अफ नेपाल (PhAN) ले विश्व फार्मासिस्ट दिवस–२०२६ को अवसरमा ‘फार्मा पोलिसी डायलग’ आयोजना गर्ने भएको छ।

आगामी २५ सेप्टेम्बर २०२६ मा आयोजना हुने संवादमा नेपालको फार्मेसी क्षेत्रका नीतिगत खाडल पहिचान गर्दै सुधारका प्राथमिकता र कार्यान्वयनयोग्य सिफारिस तयार गर्ने लक्ष्य राखिएको छ। यस वर्षको विश्व फार्मासिस्ट दिवसको नारा ‘Empowering Pharmacists for Healthier Futures’ रहेको छ।

कार्यक्रममा नीति निर्माता, नियामक निकाय, सांसद, सरकारी निकाय, औषधि उद्योग, विश्वविद्यालय तथा शैक्षिक संस्था, अस्पताल, सामुदायिक फार्मेसी, वितरक, अनुसन्धानकर्ता र पेशागत संघ–संस्थाका प्रतिनिधिलाई एउटै मञ्चमा ल्याइने आयोजकले जनाएको छ।

फार्मेसी क्षेत्रको समस्यालाई केवल पहिचान गर्नेभन्दा पनि ‘हालको नीति के छ, कति कार्यान्वयन भएको छ, कहाँ समस्या छ, किन समस्या छ र अब के परिवर्तन आवश्यक छ’ भन्ने प्रश्नमा केन्द्रित भएर संवाद अघि बढाइनेछ।

चार प्रमुख क्षेत्रमा विशेषज्ञ प्रस्तुतीकरण

कार्यक्रममा फार्मेसी शिक्षा, सामुदायिक फार्मेसी तथा औषधि व्यापार–वितरण, अस्पताल तथा क्लिनिकल फार्मेसी एवं अनुसन्धान र औद्योगिक फार्मेसी गरी चार प्रमुख क्षेत्रमा विशेषज्ञ प्रस्तुतीकरण हुनेछ।

फार्मेसी शिक्षासम्बन्धी सत्रमा प्रा. डा. धर्मप्रसाद खनाल र फार्मासिस्ट परशुराम अधिकारीले प्रस्तुतीकरण गर्नेछन्। नेपालको फार्मेसी शिक्षाको वर्तमान अवस्था, पाठ्यक्रम, व्यावहारिक शिक्षा, दक्षता, रोजगारी तथा उद्योग र अस्पतालसँगको सहकार्यबारे छलफल हुनेछ।

त्यस्तै सामुदायिक फार्मेसी, व्यापार तथा वितरणसम्बन्धी सत्रमा फार्मासिस्ट बद्री केसी र फार्मासिस्ट हरिओम थापाले प्रस्तुतीकरण गर्नेछन्। औषधिको आपूर्ति शृङ्खला, भण्डारण, वितरण, GDP/GSDP, औषधिको अभाव, म्याद गुज्रिने समस्या, ग्रामीण क्षेत्रमा पहुँच तथा E-pharmacy र Digital Supply Chain जस्ता विषय छलफलको केन्द्रमा रहनेछन्।

अस्पताल, अनुसन्धान तथा क्लिनिकल फार्मेसी सत्रमा डा. सुनिल श्रेष्ठ, फार्मासिस्ट गीता श्रेष्ठ र फार्मासिस्ट मानबहादुर महरा सहभागी हुनेछन्। अस्पतालमा फार्मासिस्टको भूमिका, Medication Safety, Clinical Pharmacy, Pharmacovigilance, Antimicrobial Stewardship, Clinical Research तथा बिरामीकेन्द्रित औषधि सेवाको विस्तारबारे छलफल हुनेछ।

त्यसैगरी औद्योगिक फार्मेसीसम्बन्धी सत्रमा फार्मासिस्ट अच्युतविक्रम थापा र फार्मासिस्ट सरोज पौडेलले प्रस्तुतीकरण गर्नेछन्। स्वदेशी औषधि उत्पादन, उत्पादन क्षमताको उपयोग, GMP, कच्चा पदार्थमा आयात निर्भरता, अनुसन्धान तथा विकास, सरकारी खरिद नीति र औषधि उद्योगको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमताबारे बहस हुनेछ।

फार्मासिस्टको भूमिका विस्तारबारे अन्तर्राष्ट्रिय अनुभव

कार्यक्रममा नेपालको मात्र नभई अन्तर्राष्ट्रिय अभ्यासलाई समेत समेटिनेछ। प्रा. डा. विभु पौड्यालले ‘Independent Prescribing by Pharmacists’ विषयमा प्रस्तुतीकरण गर्नेछन्।

विश्वका विभिन्न स्वास्थ्य प्रणालीमा फार्मासिस्टको भूमिका कसरी विस्तार भइरहेको छ र त्यस्ता अभ्यासबाट नेपालले के सिक्न सक्छ भन्ने विषयमा अन्तर्राष्ट्रिय अनुभव प्रस्तुत गरिने आयोजकले जनाएको छ।

२०३० र २०३५ का लागि मापनयोग्य लक्ष्य

फार्मा पोलिसी डायलगलाई छलफलमा मात्र सीमित नराखी अन्त्यमा ‘Pharmacy Policy Reform Agenda for Nepal’ तयार गर्ने योजना छ।

उक्त कार्यसूचीमा वर्तमान अवस्था, नीतिगत खाडल, प्रस्तावित सुधार, जिम्मेवार निकाय, कार्यान्वयनको समयसीमा र प्राथमिकता निर्धारण गरिनेछ। तत्काल, आगामी तीन वर्ष र सन् २०३५ सम्म गर्नुपर्ने सुधारलाई छुट्टाछुट्टै प्राथमिकतामा राखिनेछ।

कार्यक्रमको मूल प्रश्न “नेपालले सन् २०३५ सम्म गुणस्तर सुनिश्चित, आत्मनिर्भर, बिरामीकेन्द्रित, अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी फार्मेसी तथा औषधि क्षेत्र कसरी निर्माण गर्न सक्छ?” भन्ने रहनेछ।

‘नीतिदेखि कार्यान्वयनसम्म’ पुग्ने लक्ष्य

आयोजकका अनुसार संवादको उद्देश्य समस्या र चुनौतीको सूची तयार गर्नु मात्र होइन, कुन नीति निरन्तरता दिने, कुन संशोधन गर्ने, कुन नयाँ नीति वा कानुन आवश्यक छ, कसले कार्यान्वयन गर्ने र त्यसको परिणाम कसरी मापन गर्ने भन्ने स्पष्ट कार्ययोजना निर्माण गर्नु हो।

कार्यक्रमका समन्वयकर्ता फार्मासिस्ट विवेक सिंह महत रहेका छन्। विश्व फार्मासिस्ट दिवस–२०२६ को अवसरमा हुने उक्त संवादले नेपालको फार्मेसी क्षेत्रलाई उत्पादन, शिक्षा, अस्पताल सेवा, अनुसन्धान, सामुदायिक अभ्यास, औषधि वितरण र नियमनसँग जोडेर आगामी दशकको नीतिगत सुधारको आधार तयार गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!