अवैध पोल्ट्रीजन्य वस्तुको आयात रोक्न सीमा नाकामा कडाइ गर्न ह्याचरी उद्योगीको माग

खुला सीमाबाट हुने अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी बढाउने संघको निर्णय

काठमाडौं । नेपाल ह्याचरी उद्योग संघले भारतीय खुला सीमासहित विभिन्न नाकाबाट अवैध रूपमा भित्रिने पोल्ट्रीजन्य वस्तुको ओसारपसार नियन्त्रण गर्न सीमा क्षेत्रमा निगरानी र अनुगमन कडाइ गर्न सरकारसँग माग गरेको छ।

संघका अध्यक्ष राजेन्द्र लामिछानेको अध्यक्षतामा बसेको बैठकले पोल्ट्री क्षेत्रका समसामयिक विषयमा छलफल गर्दै अवैध रूपमा पोल्ट्रीजन्य वस्तु भित्रिने क्रम नियन्त्रण गर्न सम्बन्धित निकायलाई थप सक्रिय बनाउनुपर्ने निष्कर्ष निकालेको हो।

बैठकले सीमा नाकामा हुने अवैध ओसारपसारमाथि नियमित अनुगमन तथा निगरानी बढाउने र त्यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायसमक्ष सिफारिस गर्ने निर्णय गरेको संघले जनाएको छ।

संघले खुला सीमाको फाइदा उठाउँदै अवैध रूपमा पोल्ट्रीजन्य वस्तु भित्र्याउने तथा ओसारपसार गर्ने गतिविधिले कानुनी प्रक्रियाबाट सञ्चालन भइरहेका पोल्ट्री व्यवसायमा असर पार्न सक्ने भन्दै सीमा नाकाको निगरानी प्रणाली प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ।

अवैध ओसारपसार नियन्त्रणका लागि सम्बन्धित सरकारी निकायबीच समन्वय, सीमा क्षेत्रमा प्रभावकारी अनुगमन तथा शंकास्पद पोल्ट्रीजन्य वस्तुको नियमित जाँच आवश्यक रहेको संघको भनाइ छ।

संघले अवैध कारोबारमा संलग्न व्यक्ति तथा समूहलाई कानुनी दायरामा ल्याई कारबाही गर्नसमेत सरकारसँग आग्रह गरेको छ।

बैठकले पोल्ट्री क्षेत्रको उत्पादन तथा बजार व्यवस्थापनसँग सम्बन्धित अन्य विषयमा समेत निर्णय गरेको छ। बजारमा चल्ला तथा कुखुराको माग उच्च रहे पनि सोहीअनुसार आपूर्ति हुन नसकेको भन्दै मागअनुसार उत्पादन वृद्धि गर्ने निर्णय संघले गरेको छ।

त्यस्तै, ह्याचरी मापदण्ड तथा प्रचलित पोल्ट्री निर्देशिकाको अध्ययन गरी आवश्यक सुधार र परिमार्जनका विषय समेटिएको तीन महले (Three-Column) तयार गरी पशु सेवा विभागका महानिर्देशकसमक्ष पेश गरिएको संघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!