काठमाडौं । नियमित वर्षा हुन थालेपछि काठमाडौं महानगरपालिकाले जोखिमयुक्त क्षेत्र र विद्यालयमा निगरानी बढाएको छ। सम्भावित बाढी, डुबान तथा भौतिक क्षति न्यूनीकरणका लागि महानगरले पूर्वतयारी र प्रतिकार्य प्रणाली सक्रिय बनाएको हो।
बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। वर्षा थप भारी हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै महानगरले सबै वडा, विभाग र संयन्त्रलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
जोखिमयुक्त क्षेत्रमा रहेका विद्यालयको अवस्था मूल्याङ्कन गरी आवश्यक परे पठनपाठन स्थगन गर्न शिक्षा विभागलाई जिम्मेवारी दिइएको छ। नदी किनारमा माइकिङ, पानी निकास हुने स्थानको निगरानी तथा ढल, मंगाल र क्याचपिट सफाइलाई तीव्रता दिइने महानगरले जनाएको छ।
सम्भावित विपद्का लागि एम्बुलेन्स, ¥याफ्टिङ बोर्ड, त्रिपाल तथा उद्धार सामग्री तयारी अवस्थामा राखिएको छ। नगर प्रहरीको उद्धार टोलीसमेत परिचालन गरिएको छ भने सुरक्षा निकाय, रेडक्रस, जिल्ला प्रशासनलगायत निकायसँग समन्वय बढाइएको छ।
जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा राख्न विद्यालय तथा मानव सेवा आश्रमलाई ‘होल्डिङ सेन्टर’का रूपमा प्रयोग गर्ने तयारी गरिएको छ। विपद् प्रभावितलाई राहत सिफारिस गर्न छुट्टै संयन्त्रसमेत गठन गरिएको महानगरले जनाएको छ।
यसैबीच, इन्द्रजात्रालाई ध्यानमा राख्दै सम्बन्धित क्षेत्रमा सरसफाइ र पानी निकासको विशेष निगरानी गरिने भएको छ। महानगरले नागरिकलाई सतर्क रहन तथा आधिकारिक मौसम पूर्वसूचना र सूचनामा ध्यान दिन आग्रह गरेको छ।