सांस्कृतिक गुरु श्रीगोपाल प्रजापतिको निधनमा मध्यपुर थिमि नगरपालिकाद्वारा शोक व्यक्त

‘मध्यपुर थिमिले एक सच्चा सांस्कृतिक अभिभावक गुमायो’

मध्यपुर थिमि/रत्न काजि प्रजापति। मध्यपुर थिमिको मौलिक कला, संस्कृति, परम्परागत नृत्य तथा बाजागाजाको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएका सांस्कृतिक गुरु श्रीगोपाल प्रजापतिको निधनप्रति मध्यपुर थिमि नगरपालिकाले दुःख व्यक्त गरेको छ।

नगरपालिकाले शोक वक्तव्य जारी गर्दै ९५ वर्षीय प्रजापतिको निधनले मध्यपुर थिमिको सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएको हो।

स्वर्गिय प्रजापतिले मध्यपुर थिमिको ऐतिहासिक तथा सांस्कृतिक पहिचानका रूपमा रहेका विभिन्न परम्परागत बाजा, नृत्य र सांस्कृतिक सम्पदालाई जीवन्त राख्न तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न अतुलनीय योगदान पुर्‍याउनुभएको थियो।

विभिन्न परम्परागत नृत्य तथा बाजाका ज्ञाता प्रजापति थिमि कला परिषद्का संस्थापक अध्यक्ष समेत हुनुहुन्थ्यो। उहाँलाई मध्यपुर थिमिमा नागरिक अभिनन्दन समेत गरिएको थियो।

नगरपालिकाले प्रजापतिको निधनसँगै मध्यपुर थिमिले एक सच्चा सांस्कृतिक अभिभावक गुमाएको जनाएको छ। उहाँको योगदान मध्यपुर थिमिको सांस्कृतिक इतिहासमा सधैँ स्मरणीय रहने नगरपालिकाको भनाइ छ।

नगर प्रमुख सुरेन्द्र श्रेष्ठद्वारा जारी शोक वक्तव्यमा स्वर्गीय प्रजापतिको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ।

साथै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकप्रति नगरपालिकाले गहिरो समवेदना व्यक्त गर्दै यस दुःखको घडीमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेको छ।

श्रीगोपाल प्रजापतिको निधनले मध्यपुर थिमिले आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षणमा जीवन समर्पण गर्नुभएका एक अनुभवी गुरु गुमाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!