GLIPID-1 Recall विवादमा नेपाल औषधि व्यवसायी संघको आपत्तिः ‘प्रमाणबिना व्यवसायीलाई दोष नलगाऊ’ महासचिब सुमन

काठमाडौं/ रत्न काजि प्रजापति ।

औषधि व्यवस्था विभागले टाइम फर्मास्युटिकल्सको GLIPID-1 (Glimepiride Tablets USP), Batch No. GM-070 बजारबाट फिर्ता (Recall) गर्न दिएको निर्देशनपछि औषधि व्यवसायीहरू र उत्पादकबीच देखिएको विवादमा नेपाल औषधि व्यवसायी संघ, काठमाडौं जिल्ला शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ।

संघले उत्पादक कम्पनीले विभागलाई दिएको जवाफमा थोक तथा खुद्रा औषधि व्यवसायी, जिल्ला अस्पताल तथा स्वास्थ्य संस्थाका औषधि भण्डारण कक्षलाई औषधिको गुणस्तरसम्बन्धी समस्यासँग जोडेर उल्लेख गरेकोप्रति आपत्ति जनाएको हो।

संघका महासचिव शुभ मान श्रेष्ठ सुमनद्वारा जारी विज्ञप्तिमा प्रमाण र वैज्ञानिक आधारबिना औषधि व्यवसायीलाई दोषारोपण गर्नु उचित नहुने उल्लेख छ। औषधिको गुणस्तरमा समस्या देखिँदा उत्पादन, प्याकेजिङ, भण्डारण, ढुवानी वा वितरणमध्ये कुन चरणमा समस्या उत्पन्न भयो भन्ने वैज्ञानिक रूपमा पहिचान गर्नुपर्ने संघको भनाइ छ।

संघले औषधिको गुणस्तर उत्पादनस्थलमा मात्र सुनिश्चित हुने विषय नभएको भन्दै उत्पादनदेखि उपभोक्तासम्मको सम्पूर्ण आपूर्ति शृंखलालाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिएको छ। उत्पादक, आयातकर्ता, आधिकारिक वितरक, थोक तथा खुद्रा व्यवसायी, स्वास्थ्य संस्था र नियामक निकायले आ–आफ्नो जिम्मेवारी वैज्ञानिक रूपमा निर्वाह गर्नुपर्ने संघको धारणा छ।

त्यसैगरी संघले बजारमा पुगेपछि पनि औषधिको गुणस्तर र वितरण अवस्थाको निरन्तर निगरानी गर्न Post-Marketing Surveillance, Risk-Based Market Sampling तथा Supply Chain Monitoring प्रणाली प्रभावकारी बनाउन माग गरेको छ।

नेपालको भौगोलिक अवस्था र मौसमी तापक्रमलाई ध्यानमा राख्दै औषधि ढुवानी तथा भण्डारण प्रणालीलाई थप व्यवस्थित बनाउनुपर्ने संघको भनाइ छ। औषधिका लागि आवश्यक मापदण्ड पूरा गर्ने Dedicated Pharmaceutical Transportation System विकास गर्न नियामक निकाय, उत्पादक र औषधि व्यवसायीबीच सहकार्य आवश्यक रहेको संघले जनाएको छ।

Recall प्रक्रियासमेत पारदर्शी, वैज्ञानिक र तथ्यमा आधारित हुनुपर्ने संघको माग छ। गुणस्तरमा समस्या देखिएपछि जनस्वास्थ्य सुरक्षाका लागि तत्काल Recall गर्नु नियामक निकायको जिम्मेवारी भए पनि Recall अघि उत्पादकलाई परीक्षणको आधार, नमूना संकलन प्रक्रिया र अन्य तथ्यबारे आफ्नो धारणा राख्ने उचित अवसर दिनुपर्ने संघले जनाएको छ।

विशेषगरी नियामक निकायको परीक्षण र उत्पादकको Control Sample परीक्षणबाट फरक परिणाम आएको अवस्थामा Independent/Confirmatory Laboratory Testing तथा वैज्ञानिक अनुसन्धानमार्फत वास्तविक कारण पहिचान गर्नुपर्ने संघको माग छ।

संघले औषधिको गुणस्तरलाई उत्पादक र व्यवसायीबीचको सामान्य व्यावसायिक विवादका रूपमा लिन नहुने स्पष्ट पारेको छ। औषधिको गुणस्तर बिरामीको जीवन र जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएकाले दोषारोपणभन्दा तथ्य र वैज्ञानिक प्रमाणका आधारमा समस्या पहिचान गरी सुधार गर्नुपर्ने संघको भनाइ छ।

“उत्पादकले व्यवसायीलाई, व्यवसायीले उत्पादकलाई वा कुनै पक्षले नियामक निकायलाई दोषारोपण गर्ने होइन,” संघले भनेको छ, “समस्या जहाँबाट उत्पन्न भएको हो, तथ्य र वैज्ञानिक प्रमाणका आधारमा त्यसको पहिचान गरी भविष्यमा पुनरावृत्ति हुन नदिने प्रणाली निर्माण गर्नुपर्छ।”

महासचिब सुमनले उत्पादनदेखि उपभोक्तासम्म गुणस्तरीय औषधि सुनिश्चित गर्न Supply Chain Quality Management System विकास गर्न सम्बन्धित नियामक निकाय, उत्पादक, आयातकर्ता, वितरक, थोक तथा खुद्रा व्यवसायी र स्वास्थ्य संस्थाबीच सहकार्य, समन्वय, पारदर्शिता र उत्तरदायित्व आवश्यक रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!