भक्तपुर, जेठ १०:
मध्यपुर थिमि नगरपालिकाले गठन गरेको मौलिक नाम अभिलेखिकरण र प्रतिस्थापन समितिले मंगलवार ललितपुर महानगरपालिका प्रमुख संग भेटघाट गरेको छ।
मध्यपुर थिमि नगरपालिकाका टोल बस्ती र स्थानको पुराना ऐतिहासिक मौलिक नाम संकलन गरी अभिलेखिकरण गर्ने र त्यसलाई पुनः प्रतिस्थापन गर्ने उद्देश्यले गठन गरेको समितिले भेटघाटका क्रममा महानगरपालिकामा भइरहेको टोलबस्ती र सडकको नामाकरणका साथै मेट्रिक घर नम्बरीङको कार्यका बारेमा आपसी अनुभव आदानप्रदानका गरेको हो ।
सो अवसरमा मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले स्थानीय कला सँस्कृतिको संरक्षण र संवद्र्धन गरी नगरमा पर्यटन विकासको योजना अघि बढेको सन्दर्भमा टोल बस्तीको नामाकरण पनि पुराना ऐतिहासिक मौलिक हुनुपर्ने भएकाले नगरपालिकाले मौलिक नाम संकलन अभिलेखिकरण र प्रतिस्थापनको योजना अघि बढाएको बताउनुभयो । प्रमिख श्रेष्ठले समितिको प्रतिवेदनको आधारमा आगामी नगरसभाबाट निर्णय गरी प्रतिवेदन कार्यान्वयनमा जाने तयारी भइरहेको जानकारी दिनुभयो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकाले गरेको भन्दा मध्यपुर थिमि नगरपालिकाले मौलिक नाम प्रतिस्थापनका लागि गहिरोसँग अध्ययन गरेको पाएको बताउनुभयो ।उहाँले नगरका पुराना ऐतिहासिक बस्तीहरुमा नामकरणमा समस्या नभएपनि महानगरपालिका पछि गाभिएका साविक गाउँ विकास समितिका टोल बस्तीहरु जुन पछि बिस्तार भएका बस्तीहरुमा मौलिक नामाकरणमा समस्या भएको बताउनुभयो ।
छलफलमा मध्यपुर थिमिको मौलिक नामाकरण समितिका संयोजक राजेन्द्र श्रेष्ठले मध्यपुर थिमिमा मौलिक नामाकरणका लागि भईरहेको गतिविधि, विधि, प्रक्रियाका बारेमा जानकारी दिनुभएको थियो ।
यसैगरी ललितपुर महानगरपालिकाका ईं श्रीकुमार महर्जनले महानगरपालिकाले मेट्रिक घर नम्बरीङका लागि गरिएको गतिविधि र हालको अवस्था, यसको उपयोगिताका बारेमा विस्तृतमा प्रस्तुतीकरणमार्फत जानकारी दिनुभएको थियो ।