भक्तपुर, ९ कार्तिक ।
त्रिचालीसौँ नेपालभाषा साहित्य तःमुंज्या (दुईदिने सम्मेलन) बिहीबार स्थानीय ज्येष्ठ नागरिक एवं सांस्कृतिक गुरु राम घेमोसुबाट मालश्री धुनको पाश्र्वमा कलात्मक पानसमा दीप प्रज्ज्वलन गरी सुमद्घाटन भएको छ । ऐतिहासिक तथा धार्मिक स्थल ल्योसिं ख्यमा भएको उक्त तःमुंज्यामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले लिम्पियाधुरा, कालापानी नेपालको भूमिसित जग्गा साटफेर गर्ने विचारप्रति असहमति जनाउँदै त्यो क्षेत्र सामरिक महत्वको क्षेत्र भएकोले कुनै हालतमा नेपालले छोड्न नहुने विचार व्यक्त गर्नुभयो ।

पुर्खाको रगतले कोरिएको हाम्रो सार्वभौम भूमि कहीँको जग्गासित पनि साटिन नहुने स्पष्ट पार्दै उहाँले चीनले नेपालको सीमा कहीँ नमिचेको बताउनुभयो ।अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “कुनै व्यक्ति कुनै पदमा बस्नुभन्दा पनि पदअनुसारको काम उसले गरे नगरेको मुख्य हुन्छ । शिक्षक हुनु ठूलो कुरा होइन बरु पदअनुसारको पठनपाठन गर्नु ठूलो हो । भक्तपुरको शैक्षिक स्तर उठ्नुमा यहाँका शिक्षकहरूको परिश्रमको सकारात्मक परिणाम हो ।”
उहाँले भन्नुभयो, “हामी जो जहाँ जेसुकै पेशा व्यवसायमा रहे पनि इमानपूर्वक देश र जनताको सेवा गर्न समर्पित हुनुपर्छ ।” उहाँले, “बिरामीसित नर्स, डाक्टर झर्कने हो भने त्यो पेशा नै छोड्नुपर्छ । पढाउन झर्को मान्ने व्यक्ति शिक्षक हुनुहुँदैन ।” शिष्ट भाषा आजको आवश्यकता रहेको चर्चा गर्दै उहाँले यस्ता सभा गोष्ठी सम्मेलन आफै पनि एउटा कक्षा हो भन्नुभयो ।
उहाँले सो अवसरमा जनगायक चन्द्रबहादुर श्रेष्ठ, वरिष्ठ इन्जिनियर राजदास श्रेष्ठ, वरिष्ठ कार्टुनिस्ट मोहनश्याम खोकना र शिक्षाकर्मी अम्बिकामान मानन्धरलाई दोसल्ला ओढाई नगद रु. पच्चीस हजारसहित सम्मानपत्रद्वारा सम्मान गर्नुभयो ।