भक्तपुर, २०८० कार्तिक १७ः
भक्तपुर नगरपालिकाको आयोजनामा संस्थागत एवम् सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुको खेलकुद प्रशिक्षक प्रशिक्षण तालिम आजबाट सुरु भएको छ ।
तालिमको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको सर्वाङ्गीण विकास गर्ने सोचले नगरपालिका अगाडि बढिरहेको बताउँदै विद्यार्थी केन्द्रित खेलकुद गतिविधि सञ्चालनले देशको लागि आवश्यक उत्कृष्ट खेलाडीहरु उत्पादन गर्न मद्दत पुग्ने बताउनुभयो ।
इजरायली आक्रमणको विरोधमा प्यालेस्टाइनको पक्षमा विश्वका धेरै देशले आवाज उठाइरहेको सन्दर्भ जोड्दै उहाँले नेपाली जनताले पनि इजरायली नरसंहारको विरोध र निन्दा गर्नु आवश्यक भएको बताउनुभयो । उहाँले एकजना शिक्षकले धेरै विद्यार्थीहरुलाई प्रशिक्षित गर्ने हुँदा भक्तपुर नपाले विद्यालयका शिक्षकहरुलाई लक्षित गरी यो तालिम सञ्चालन गरेको बताउनुभयो । उहाँले खेलकुदको माध्यमबाट युवा विद्यार्थीहरुलाई सक्रिय तुल्याउन खेलकुदलाई प्राथमिकतामा राख्दै आएको बताउँदै नयाँ खेलाडीहरुलाई उत्साहित गर्न पनि टेवा पुर्याएको बताउनुभयो ।

भक्तपुर नपाले खेलकुद गतिविधि सञ्चालनसँगसँगै खेलकुद पूर्वाधार निर्माणको सिलसिलाअन्तर्गत वडा नं. ८ लिबालीमा कभर्ड हल सञ्चालनमा ल्याइसकेको र ब्याडमिन्टन कर्भड हल निर्माणको अन्तिम चरणमा पुगेको सोही अवसरमा उहाँले बताउनुभयो ।
उक्त कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले प्रत्येक वर्ष खेलकुद गतिविधिलाई महोत्सवको रुपमा सञ्चालन गरी विद्यार्थीहरुलाई उत्साहजनक सहभागिता गराउँदै आएको बताउनुभयो । उहाँले भक्तपुर नपाले अरनिको सभाभवन निर्माण, खेलमैदानहरु निर्माणलाई प्राथसमकतामा राख्दै काम गर्दै आएको बताउँदै खेलाडीहरु देशभक्त हुनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, राष्ट्रिय भलिबल रेफ्रि विनोदचरण रायले पनि बोल्नुभएको थियो भने भनपाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले धन्यवादज्ञापन गर्नुभएको थियो ।
भक्तपुर नपाको आयोजनामा हुने ८ दिने खेलकुद प्रशिक्षक तालिममा सुरक्षा तथा प्राथमिक उपचार, फुटबल, पाठयोजना, भलिबल,खोखो, एथ्लेटिक्स, छिकोङ खेलको प्रशिक्षण हुने जानकारी वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले दिनुभयो । तालिममा ४८ वटा विद्यालयका शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।