इटहरी, कात्तिक १७ ,२०८०ः
सुनसरीको चतरा पुल नजिकै सप्तकोशी नदीमा मोटरबोट दुर्घटनामा परेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनीद्वारा सञ्चालित “सि.सं. ४ गोताखोर तालिमको अन्तिम प्रवचन कार्यक्रममा सहभागी हुन गएका पत्रकार तथा आगन्तुक सवार मोटरबोट दुर्घटनामा परेको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा विपद खोज तथा उद्धार अभ्यास प्रदर्शनसहित सशस्त्र प्रहरी बलले ‘डेमो’ देखाउने तयारी गरिरहेको अबस्थामा उक्त दुर्घटना भएको थियो। दुर्घटनामा परी रेडियो नेपालका संवाददाता कुमुद अधिकारी, मुख्यमन्त्रीको सचिवालयमा आवद्ध पत्रकार खेमराज सापकोटा, कान्तिपुर टीभीका विराटनगर संवाददाता महाप्रसाद खतिवडा र क्यामेरापर्सन शम्भु पोखरेलसहितका व्यक्ति घाइते भएका छन् ।
पत्रकार अधिकारीको बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचार भइरहेको छ भने अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो । दुर्घटनामा परेका सबैको उद्धार सशस्त्र प्रहरी बलको गोताखोर टोलीले गरेको थियो ।