लेखनाथ, चैत ८, २०८०ः
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई खोया प्रहार गर्ने युवकलाई १० दिन हिरासतमा राखी अनुसन्धान गरिने भएको छ। सभापति लामिछानेमाथि शनिबार पोखराको अमरसिंह चोकमा भएको सभामा लमजुङको राइनास नगरपालिका वडा नम्बर ८ का सन्तोष रानाभाटले खोया प्रहार गरेको थियो। खोया प्रहार गरेका रानाभाटलाई तत्काल नियन्त्रणमा लिई सम्झाउन खोज्दा प्रहरीमाथि नै दुव्र्यवहार गरेको कास्की प्रहरीले जनाएको छ।
रानाभाटलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसुर अन्तर्गत अभद्र व्यवहार गर्न नहुने कसुरमा १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले बताए।