काठमाडौँ, पुस ११, २०८०ः
स्वर्गीय सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार २०८० पत्रकार लक्की चौधरीलाई प्रदान गरिने भएको छ । नेवाः पत्रकार राष्ट्रिय दबूको आज बसेको सचिवालय बैठकले उहाँलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
यस वर्ष पहिलो पटक सो पुरस्कारको स्थापना भएको हो । अब सो पुरस्कार हरेक वर्ष पुस १३ गते श्रेष्ठको जन्मदिन पारेर प्रदान गर्ने निर्णय भएको दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले जानकारी दिनुभयो । स्वर्गीय श्रेष्ठको १०८ औं जन्मजयन्तीको अवसरमाआउदो शुक्रबार एक समारोहबीच सो पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो । सो पुरस्कारको राशि २५ हजार रुपियाँ नगद र सम्मानपत्र रहेको छ ।
तत्कालीन नेपाल पत्रकार संघ र आजको नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष श्रेष्ठ रहेको गृष्मबहादुर देवकोटासहित विभिन्न लेखकले लेखे पनि महासंघले अहिलेसम्म उहाँलाई संस्थापक स्वीकार गरेको छैन । श्रेष्ठले आफ्नै नेतृत्वमा २००८ साल वैशाख ९ गते तत्कालीन नेपाल पत्रकार संघ स्थापना गरी नेपाली पत्रकारलाई संगठित गर्नुभएको थियो । एक वर्षपछि २००९ वैशाख २८ गते भएको अर्को भेलाले श्रेष्ठकै नेतृत्वमा नयाँ कार्य समिति गठन गरेको विभिन्न लिखतबाट पुष्टि भएको छ ।
तत्कालीन पत्रिका ‘नेपाल टुडे’ का सम्पादक श्रेष्ठले गठन गर्नुभएको नेपाल पत्रकार संघको निरन्तरता आजको महासंघ भएको नेवा दबूको दाबी रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । वि.सं. २०१२ चैत १६ गते ‘नेपाल पुकार’ का तत्कालीन सम्पादक एवं सन्त नेता स्वर्गीय कृष्णप्रसाद भट्टराई उपाध्यायले पुनर्गठन गर्नुभएको नेपाल पत्रकार संघलाई महासंघले स्थापना दिवस मनाएकोमा दबूको आपत्ति रहेको छ । दबूले वि.सं. २००८ वैशाख ९ गते स्थापना भएको संघलाई मान्यता दिइ ९ गतेलाई महासंघको स्थापना दिवस मनाउनुपर्ने माग गर्दैआएको छ । महासंघले चैत १६ गतेलाई स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।
नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको रुपमा श्रेष्ठलाई स्थापित गर्न माग गर्दै पत्रकार राष्ट्रिय दबूले एक दशकदेखि निरन्तर अभियान सञ्चालन गर्दैआएको पृष्ठभूमिमा सो पुरस्कार स्थापना गरिएको दबूले जनाएको छ । सो अभियानमा सक्रिय योगदान गर्दै आउनुभएका पत्रकार चौधरीको मूल्याङ्कन गर्दै उहाँलाई सो पुरस्कारबाट सम्मानित गर्ने निर्णय भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष सुनिल महर्जन संयोजकत्वमा गठित पुरस्कार छनौट समितिले चौधरीको नाम पुरस्कारको लागि सिफारिस गरेको थियो । समितिले गरेको सिफारिसलाई सचिवालयले अनुमोदन गरेको हो।
पत्रकार चौधरीले २०७२ सालदेखि स्वर्गीय श्रेष्ठका बारेमा खोजगरी निरन्तर लेख, रचना पत्रपत्रिकामा प्रकाशन गर्दै आउनुभएको छ । नेपाल पत्रकार महासंघको इतिहासलाई पुनःलेखनको माग गर्दै सार्वजनिक बहस र विमर्श गर्दै आउनुभएका पत्रकार चौधरीको योगदानको कदर गरी सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको दबूले जनाएको छ । पत्रकार चौधरीले संस्थापक विषयमा प्रेस काउन्सिल नेपालको मुखपत्र संहिताको २०७२ पुसमा प्रकाशित अङ्कमा लेख प्रकाशन गर्नुभएको थियो ।