झापा, माघ १३, २०८०ः
नेपाली काँग्रेसले झापाको भद्रपुरस्थित मेची पुलबाट आजदेखि ‘समुदायमा कांग्रेस’ अभियान सुरु गरेको छ। कांग्रेसका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, कांग्रेस नेता कृष्णप्रसाद सिटौला लगायतले मेची पुलको प्रवेशद्वारमा पाँच वटा बिरुवा रोपेर ‘समुदायमा कांग्रेस’ अभियानको सुरुवात गर्नुभएको हो ।
स्थानीय तहबाट हुने गरेका सेवा प्रवाह र विकास निर्माणको अवस्थामा नागरिकका गुनासा र सुझाव वडा स्तरबाटै कार्यान्वयन गराउन पहल गर्ने गरी हुलाकी राजमार्गबाट सुरु भएको अभियान माघ २६ गते कञ्चनपुरमा पुगेर समापन हुनेछ । ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत मेची–महाकाली संवाद यात्राको नेतृत्व गर्दै निस्किनुभएका महामन्त्री गगन थापाले यो अभियानको उद्देश्य जनताको निराशाबाट फाइदा र लाभ लिन नभई जनताको निराशालाई चिर्नु रहेको बताउनुभयो ।
महामन्त्री विश्वप्रकाश शर्माले अव्यवस्था अन्त्य गर्न कांग्रेसको सङ्कल्प अनुसार यो अभियानको सुरुवात गरिएको बताउनुभयो ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले नेपालको लोकतान्त्रिक आन्दोलनमा जनताको रगत बगेको भूमिबाट यो अभियानको सुरुवात गरिएको जानकारी दिनुभयो ।