बाके ,माघ १५,२०८०ः
भारतीय सीमा नाकाहरुबाट भै रहेको पोल्ट्रीजन्य बस्तुहरुको अबैध आयात नियन्त्रण गर्नको लागि नेपाल कुखुरा व्यवसायी मञ्चका महासचिव ज्ञानवहादुर बिसुरालले पहल थाल्नु भएको छ। अबैध आयात हुने प्रमुख नाकाहरु मध्ये एक मानिएको नेपालगंज नाकाबाट हुने गरिएको अबैध आयात नियन्त्रण गर्नेको लागि महासचिब बिसुरालले बाके जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल सग भेटघाट गर्नु भएको छ।
भेटघाटका क्रममा महासचिब बिसुरालले नेपालको पोल्ट्री क्षेत्रमा भारतीय सीमा नाकाहरुबाट अवैध रुपमा आयात हुने पोल्ट्रीजन्य वस्तुहरु प्रमुख चुनौतीको रूपमा रहेको हुँदा सो को नियन्त्रणका लागि सीमा नाका सग जोडिएका जिल्लाहरुबाट हुने गरेका अवैध आयात नियन्त्रण गर्न अनुरोघ गर्नु भयो। महासचिब बिसुरालले सीमा नाका क्षेत्रमा संचालित कोल्ड स्टोर एंव फ्रेस हाउसहरुको अनुगमनमा निगरानी बढाइ दिन पनि अनुरोध गर्नु भएको छ ।
नेपालको पोल्ट्री क्षेत्रमा सीमा नाकाबाट अबैध रूपमा आयात हुने पोल्ट्रीजन्य वस्तुहरु एक दिने चल्ला, तयारी कुखुरा, फ्रोजन मासु प्रमुख चुनौतीका रुपमा रहेको तथा सीमा नाकावाट अवैध रुपमा चल्ला, कुखुरा, तयारी मासु र अण्डा भित्रिदा बर्ड फ्लु तथा अन्य संक्रामक रोगहरु भित्रिने संभावना रहेको बिसुरालले जानकारी दिनु भयो।
भारतवाट प्रज्ञापन पत्र लिएका मालबाहाक कन्टेनरहरुमा स्वीटकर्न तथा अन्य कृषि उत्पादन उल्लेख भएता पनि चेकजांच गर्दा कुखुराको मासु, फ्रोजन मासुहरु तथा माछा भेटिने गरेको र यसबाट राजश्व चुहावट हुनुका साथै नेपालको पोल्ट्री ब्यबसायमा गम्भीर असर परेको बिसुरालले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउनु भयो। सीमा नाकाबाट हुने गरेको अबैघ आयात नियन्त्रणको लागि जिल्लाका सुरक्षा निकायहरुलाइ समेत आवश्यक समन्वय र निर्देशन दिन पनि उहाले अनुरोध गर्नु भयो।
उक्त भेटघाटमा प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले पोल्ट्री व्यवसायका समस्या र अबैध नियन्त्रणका लागि आफु अत्यन्त गम्भीर रहेको र अवैध आयात नियन्त्रणका सन्दर्भमा सुरक्षा निकाय, पशु क्वारेन्टाइन र पोल्ट्री व्यवसायीहरुको संयुक्त बैठक यथासिघ्र आयोजना गर्ने बताउनु भयो। साथै बाके जिल्लामा संचालित कोल्ड स्टोरहरुको नियमित निगरानी गर्ने प्रतिबद्धता पनि ब्यक्त गर्नु भएको छ।