भक्तपुर, माघ २३, २०८०ः
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति तथा पुर्ब उपप्रधानमन्त्री रबि लामिछानेले नेपालको राष्ट्रिय पत्रकारिता राजनीतिक दलहरूको आबद्धताबाट मुक्त हुनुपर्ने बताएका छन् ।
आज भक्तपुरमा रफत सञ्चार क्लबको १४ औं वार्षिकोत्सवको समुद्घाटन गर्दै सभापति लामिछानेले भने, “जनताको पक्षमा सही सूचना प्रवाह गर्ने हो भने पत्रकारिता दलगत भावनाबाट माथि उठ्न सके मात्रै जनताको दुःख, दर्दलाई सही ढंगबाट उजागर गर्न सकिन्छ । मैले विगतमा पत्रकारिता गर्दा पनि प्रश्नै–प्रश्नै गरेको र प्रश्नभन्दा माथि आफू कहिल्यै गएको थिइनँ ।” सभापति लामिछानेले आजको पत्रकारिता आधिकारिकतामा आधारित हुनुपर्नेमा जोड दिँदै भने, “आज पत्रकारहरूले केही विषयमा सूचना प्रवाह गर्दा आम दर्शक तथा पाठकले प्रवाहित सूचना सही वा तथ्यपरक छ कि छैन भनेर परख गर्ने गरेकाले पत्रकारहरू हिजोभन्दा पनि आज चनाखो र जिम्मेवार बन्नु पर्दछ । अन्यथा उसलाई जनताले मूल्यांकन गर्ने गरिन्छ ।”

उनले पत्रकारिता र दलगत भावना एकै ठाउँमा रहन नसक्ने चर्चा गर्दै आफूले पत्रकारिता गर्दा जनताको पक्षमा वकालत गरेकाले आम जनताले न्यानो माया प्रदानको उनले बताए। सभापति लामिछानेले आफू पत्रकार हुँदा नेतालाई आलोचना गर्ने र आफू नेता हुँदा पत्रकारलाई आलोचना गर्ने काम कहिल्यै नगरेको स्पष्ट पारे । उनले पत्रकारले सहीलाई सही भन्ने र गलतलाई गलत भन्ने हिम्मत राख्नुपर्ने सल्लाह पनि दिए ।
“मेरो सार्वजनिक जीवनका सन्दर्भमा बजारमा उठेका प्रश्न, लाञ्छनाको जवाफदिन तयार छौं“ उनले भने,“ कहिले–कहिले पानी धेरै भयो भने डुबाउने रहेछ भने कहिले पानीले पखाल्ने पनि गर्दो रहेछ । त्यसकारण मेराबारेमा उठ्ने गरेका र उठाइएका प्रश्नबाट म आत्तिएको पनि छैन र तर्सिएको पनि छैन । रास्वपा सत्य, निष्ठाको ताकतमा लोकतन्त्रको पक्षमा रहेको छ । कुनैपनि मूल्यमा लोकतन्त्र नमासियोस्, नखोसियोस् भन्ने मान्यतामा रास्वपा विश्वास राख्दछ ।”
उनले अगाडि भने,“कहीँ कतै पत्रकारहरूका कलम, माइक्रोफोन र क्यामेरा गलत सूचना र अमूक दलका नेताहरूलाई बचाउन चढाएका त छैनौं? यदि पत्रकारिताका उपकरणहरू नेताहरूलाई चढायौं भने त्यो लोकतन्त्रका लागि घातक सिद्ध हुनेछ ।”
सभापति लामिछानेले रफत सञ्चार क्लबले १४ औं वार्षिकोत्सव मनाउँदै गर्दा लोकतन्त्रलाई सुदृढ, जनजीविकालाई सहज र उत्पीडत एवं अन्यायमा परेकाको आवाजलाई सही ढंगले प्रस्तुत गर्न अग्रसर हुँदै लोकतन्त्रको सच्चा पहरेदार बन्न सकोसु भन्ने शुभकामना पनि दिए ।