कांग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा

काठमाडौं, फागुन २ गते ।

नेपाली कांग्रेसको महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको छ । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको प्रचारप्रसार उपसमितिले पत्रकार सम्मेलन गरेर यस बारेमा जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा प्रचारप्रसार उपसमितिका संयोजक मीनबहादुर विश्वकर्माले फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा बस्ने महासमितिको बैठकको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।

विश्वकर्माले बैठकको लागि तयार पारिने स्वागत गेटमा पार्टीका संस्थापक नेता बीपी कोइराला र सभापति शेरबहादुर देउवाको तस्विर राखिने जानकारी दिनुभयो । उहाँले महासमिति बैठकको नारा ‘राजनीतिक स्थायित्व, रुपान्तरण र नविनता, स्वतन्त्रता, न्याय र समानता, नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता’ भन्ने रहेको बताउनुभयो । उहाँले महासमितिको लागि उपत्यकाको सडकमा दायाँ र बायाँ, रिङरोड, सातदोबाटोदेखि कार्यक्रम स्थलसम्म झण्डा राखिने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, स्वागत गेट काठमाडौंका नागढुंगा, कलंकी, गोंगबु, महाराजगञ्ज, चाबहिल, कोटेश्वर, बल्खु, चोभार, ललितपुरको बालकुमारी, सातदोबाटो, लुभु, गोदावरी, चापागाउँ, कुपण्डोल, भक्तपुरको साँगा, सूर्यविनायक, कमलविनायक, कौशलटार, जडिबुटी, काभ्रेपलाञ्चोकको भकुण्डेबेँसी, धुलिखेल, बनेपा, धादिङको गजुरी र नौबिसे, नुवाकोटको ककनी र जरसिङपौवामा रहनेछ ।”

सहभागीहरुलाई तस्विर खिच्नका लागि आकर्षक स्थानमा सेल्फी पोइन्ट बनाउने पनि प्रचारप्रसार उपसमितिको तयारी छ । उद्घाटनको दिन बिहान ९ बजेदेखि कार्यक्रमस्थलमा रक्तादान कार्यक्रम गर्ने, कार्यक्रम अवधिभर ७ देखि १० गतेसम्म स्वास्थ्य शिविर रहने, नेपाली कांग्रेस, लोकतन्त्र, समाजवाद र समय सान्दर्भिक विषयका पुस्तक बिक्री वितरण कक्ष राख्ने तयारी रहेको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!