रेडक्रसमा राजनीतिक हस्तक्षेप हुनु हुँदैन : अध्यक्ष तिमिल्सिना

कास्की, फागुन ५, २०८०ः

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मानवतावादी रेडक्रस जस्तो संस्थामा राजनीति प्रवेश गर्दा सेवाग्राहीले सुशासन प्राप्त गर्न नसक्ने बताउनुभएको छ ।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको ४०औँ साधारण सभालाई आज पोखरामा सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्ता संस्थामा राजनीतिक हस्तक्षेप हुनु राम्रो नभएको बताउनुभयो । अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त नेपाल रेडक्रस सोसाइटीलाई राजनीतिबाट टाढै राख्नुपर्ने सुझाव दिँदै अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरूले पनि यस्ता संस्थालाई स्वतन्त्र रूपमा मानवीय सेवामा लाग्न प्रेरित गर्नुपर्ने सुझाव दिनुभयो । रेडक्रस सोसाइटीमा लाग्ने हरेक सदस्यले पवित्र मनले मानवीय सेवा गर्दै विपद् र दुःखमा परेका व्यक्तिको घाउमा मल्हम लगाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सो अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपाल रेडक्रस सोसाइटी कास्की प्रादेशिक रक्तसञ्चार सेवाको नवनिर्मित भवनको उद्घाटन समेत गर्नुभएको थियो ।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले विपद्मा परेका र रगत अभावमा छटपटाइरहेका परिवारलाई सेवा पुर्‍याउँदै आएको रेडक्रसको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । रगतको अभाव र प्राकृतिक विपद्मा परेका परिवारलाई सहज र सरल रूपमा सेवा पुर्‍याउन उक्त संस्थाले आफ्नो सेवालाई अझ प्रभावकारी बनाउनुपर्नेमा उहाँको जोड छ । नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सुदर्शनप्रसाद नेपालले रेडक्रसकर्मीले असल र पवित्र भावनालाई उजागर गर्दै दुःखमा परेको परिवारलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । विश्वमा एक सय ९१ मुलुकमा सेवा गर्दै आएको यस संस्थाका हरेक सदस्यले आफ्नो जिम्मेवारीलाई पूरा गर्दै अगाडि बढ्न सुझाव दिनुभयो । नेपाल रेडक्रस सोसाइटीमा राजनीतिक गन्ध आउन नहुने भनाइ उहाँको छ ।

नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष दण्डराज शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य बन्दुकुमार थापा लगायतले रेडक्रसको भूमिकाको चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!