कृषि आर्थिक रुपान्तरणको बलियो खम्बा : अर्थमन्त्री महत

काठमाडौँ, फागुन ५, २०८०ः

अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक रुपान्तरणको बलियो खम्बा कृषि रहेको बताउनुभएको छ ।

आज काठमाडौँमा बिपी चिन्तन प्रतिष्ठान केन्द्रीय समितिद्वारा आयोजित –‘नेपालमा आर्थिक रुपान्तरणका आधारहरू सुशासन, ऊर्जा, कृषि, पर्यटन र श्रम तथा रोजगार’ विषयक विचार गोष्ठीमा मन्त्री डा महतले मुलुकको आर्थिक विकासलाई नेतृत्व गर्ने बलियो आधार कृषि रहेको उल्लेख गर्नुभयो ।

मन्त्री डा महतले आधुनिक प्रविधिअनुरूप व्यावसायिक खेती गरी उत्पादकत्व बढाउन आवश्यक रहेको उल्लेख गर्दै भौगोलिकताका आधारमा कृषियोग्य जमिनको पहिचान गरी कृषि क्षेत्रको औचित्य पुष्टि गर्न आवश्यक रहेको बताउनुभयो ।

मन्त्री डा. महतले ऊर्जा, पर्यटन, कृषि, प्रविधि मुलुकको आर्थिक रुपान्तरणको बलियो आधार खम्बा रहेको बताउँदै मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन यी चार खम्बाको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

गोष्ठीमा कृषि मूल्य शृङ्खला विज्ञ डा बद्री बस्ताकोटीले कृषि प्रणालीलाई फलदायी बनाउन तीनै तहका सरकारले कृषि बजेटको नीतिगत सुनिश्चितता गर्न आवश्यक बताउनुभयो ।प्रतिष्ठानले सञ्चालन गरेको दुई दिने गोष्ठीमा शुक्रबार ऊर्जा, सुशासन विषयमा छलफल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!