राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वृहत् काभ्रेपलान्चोक कृषि महोत्सवको उद्घाटन, मौलिक उत्पादनबारे जागरण अभियान चलाउन आवश्यक : राष्ट्रपति पौडेल

बनेपा, फागुन ४, २०८०ः

राष्ट्रपति रामचन्द्र पौडेलले वृहत् काभ्रेपलान्चोक कृषि महोत्सवको आज उद्घाटन गर्नु भयो। उदघाटन समारोहलाई सम्बोधन गर्नु हु्दै राष्ट्रपति पौडेलले काभ्रेपलान्चोक जिल्ला कृषि एवम् पशुजन्य उत्पादन र बजारमुखी उत्पादनको दृष्टिले महत्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले कृषि उद्यमीहरू कृषि कर्मबाट अन्य पेशा व्यवसायतर्फ आकर्षित भइरहेको सन्दर्भमा यहाँका उद्यमीहरू कृषि कार्यप्रतिको आकर्षण तथा रोजगारी र आयआर्जनसहितको आत्मनिर्भरता बढाउने गरी कृषिजन्य व्यवसायमा लागेको बताउनुभयो । उहाँले कृषिजन्य व्यवसायमा व्यापकता अभिवृद्धिमा यस महोत्सवले महत्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले विविध भौगोलिक संरचना भएको हाम्रो देशमा तराई क्षेत्रमा गहुँ, धान र उखु उत्पादन तथा पहाडी क्षेत्रमा चिया, सुन्तला, कफी, जैतुन, किवी, ड्रागन फ्रुट, एभोकाडो जस्ता हाई भ्यालु फ्रुटको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा स्याउ र ओखर खेतीको विकास गर्दा कृषि क्षेत्रको सन्तुलित विकासलाई मद्दत पुग्ने भन्नुहुँदै राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता भनेको आर्थिक समृद्धि, विकास र शान्ति नै भएको बताउनुभयो । उहाँले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभयो ।

हालै प्रकाशित भएको चौँथो जीवनस्तर सर्वेक्षणमा ५९ लाख जनसङ्ख्या गरिबिको रेखामा परेको उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले गरिबिको रेखाभित्र परेका जनसमुदायलाई बाहिर निकाल्न सक्ने क्षमता कृषि क्षेत्रमा भएको हुँदा कृषि क्षेत्रमा व्यापक नीतिगत सुधारको आवश्यकता रहेको बताउनुभयो ।

आजदेखि सुरु भएको महोत्सव फागुन ७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा कृषि उपज, पशुपंक्षीका औषधी, पशुपंक्षीका दाना ,यन्त्र उपकरण लगायतका दुई सयभन्दा बढी स्टल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!