परिवर्तनका संवाहक सञ्चारकर्मि ० कृष्ण प्रजापति

पत्रकार पेशा अत्यतै मर्यादित, सम्मानित र चुनौतीले भरिएको पेशा हो । कुनै बेला पत्रकार भन्ने विटिक्कै सचेत, सुसुचित र मर्यादित ब्यक्तिको रुपमा लिने गरिन्थ्यो । आज आएर विभिन्न खालका पत्रपत्रिका, एम. एम. रेडियो र टेलिभिजनहरुको विगविगि बढेकाले यो सेवा ब्यवसाय भन्दा पनि मागी खाने भाँडोको रुपमा देखा पर्न गइरहेको पनि छ । राणा शासन पतन गर्नको लागि प्रचार प्रसार र सञ्चारको कार्य त्यो बेला पर्चा, पम्प्लेट र वाल पेन्टिङ्ग मार्फत् हुने गरेको थियो । यो क्रम २०३६ साल सम्म चल्यो । गोरखापत्र लगायत केही सीमित मात्रामा प्रकाशित हुने पत्रपत्रिकाहरुले त्यो बेलासम्म राजनीतिक सुझबुझका लागि पहल गरिएको देखिन्थ्यो । २०४६ साल पछि एकै पल्ट थुप्रै खालका पत्रपत्रिका, रष्ट्रिय दैनिक र एफ. एम. रेडियोको बहार नै आयो । अहिले आएर गणतान्त्रिक ब्यवस्थामा पुगेको बेला त झन बढी मिडियाहरु देखा परे । यूट्यूब, फेशबूक, अनलाईन र टेलिभिजनहरुको स्थापनालाई एक हिसावले सकारात्मक मान्नु पर्दछ ।

राणा शासन काल र पंचायती शासन कालमा समेत पत्रपत्रिका चलाउने भनेको अत्यन्तै गाह्रो चीज थियो । किन भने त्यो बेला राणा शासकहरुको आँखा छलेर पत्रपत्रिका निकाल्नु पर्दथ्यो । अझ उनीहरुको बारेमा केही लेख्यो भने वा विरोध गरेको खण्डमा बलजफ्टी सञ्चार गृह र सो पत्रिका जफत गरी बन्द गर्ने अवस्था थियो । पंचायती कालमा पनि सिडीओ वा अञ्चलाधीसको स्वीकृति नलिइकन पत्रिका त के टोल टोलमा नाटक, प्रहसन र पूणर्ांकी नाटक समेत देखाउन मिल्दैनथ्यो । तैपनि प्रगतिशील धार लिएर अगाडि बढिरहेका केही उत्साहित युवाहरुले त्यो बेला पनि अञ्चलाधीस र सिडिओ कार्यालयमा एक थरीको नाटकको स्क्रिप्ट पास गराई आफ्नो टोल छिमेकमा रहेका दबूहरुमा नाटक प्रस्तुतिका क्रममा त्यस्तै खालका जनभावनाले ओतप्रोत प्रगतिशील, क्रान्तिकारी र जनवादी गीतहरु समेटिएका क्रान्तिकारी भावनाले भरिएका नाटकहरु देखाउने गरेका थिए । नेवाः समुदायले बुझ्ने गरी नेपालभाषा माध्यमले देखाउने नाटकको सिडीओमा बुझाउने रुप भने खस् नेपाली भाषामा अनुवाद गर्दा अर्कै खालको सामान्य नाटक बुझाउने गरिन्थ्यो ।

त्यसैगरी प्रगतिशील भावनाले ओतप्रोत नाति कवां, आशाकाजी बासुकला, जननीप्रसाद मूल, कृष्णगोपाल कुसीहरुले त्यो बेला याकः काय्, अबलाया ख्वबि, धकिं दुने, जयविजय, विश्वासया ख्यूगु जः, श्रद्धाञ्जली जस्ता पूणर्ांकी नाटकहरु भक्तपुरमा त्यसरी नै प्रस्तुत गर्नु भएका थिए । यो क्रम २०४६ सालसम्म काठमाडौं, भक्तपुर र ललितपुरमा पनि लामो समय चल्यो । २०४६ साल पछि भने प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रतालाई मौलिक अधिकारको रुपमा प्राप्त भएको घोषणा गरिएको छ । त्यसो भएर पनि २०४६ साल पछि धमाधम पत्रपत्रिका, एफ. एम. रेडियो र टेलिभिजनको जवाना सुरु भएको हो । यसै क्रममा कान्तिपुर राष्ट्रिय दैनिक, कान्तिपुर एफ. एम., कान्तिपुर टेलिभिजन लगायत विभिन्न खालका टेलिभिजन र सञ्चार माध्यमहरुको स्थापना भयो । यी परिवर्तनका संवाहकहरु हुन् ।

सञ्चारकर्मिहरुको घरमा अहिले पनि राम्ररी चुल्हो बल्न सकिरहेको छैन । प्रेस काउन्सिलले दिने गरेको हण्डी चपाएर दैनिक जसो समाचार संकलन, पत्रिका प्रकाशनदेखि लिएर पत्रिका वितरणमा समेत पत्रकार आफै दौडधुप गर्नु पर्ने बाध्यता छ । यो भने प्रेस काउन्सिल वा सरकारले निर्धारण गरे अनुरुपको रकम अहिलेसम्म पत्रकारको हातमा नपर्नुले हो । कमसेकम महिनाको अठाह्र हजार रुपियाँ हातमा पर्नु पर्ने नियम रहेपनि अठाह्र सयमा काम गर्नु पर्ने र तलब समेत लिन नपाएका पत्रकारहरु आज सम्म हजारौं जना छन् । कारण ब्यापार र ब्यवसाय चलाइ रहेकाहरुले समेत सित्तैमा विज्ञापन गराई रहेका छन् । कतिपय पत्रपत्रिकाहरुले त सरकारले दिने गरेको विज्ञापन वोर्डको हण्डी बाहेक एक पैशा पनि कहीं कतैबाट लिइरहेको हुँदैन । यी हविगतहरुका कारण थुप्रै पत्रपत्रिकाहरु र एफ. एम. चलेको देखिएपनि पत्रकारहरुको अवस्था नाजुक रहेको छ ।

आज दर्ता भएका कयौं पत्र पत्रिकाहरु सञ्चालन गर्न सकिरहेका छैनन् । प्रेस काउन्सिल वा सूचना विभागमा आठ हजार पत्रपत्रिकाहरु दर्ता भएका छन् । तर आठ सय वटा पत्रिका पनि चल्न सकिरहेका छैनन् । त्यसरी नै सरकारले सञ्चालन गरिरहेका नेपाल टेलिभिजन, कान्तिपुर टेलिभिजन र अन्य एक दुई वटा टेलिभिजनरुले बाहेक सबै टेलिभिजन र एफ. एम.को आर्थिक अवस्था पनि नाजुक रहेको छ । तर उनीहरुले आफ्नो कर्तब्य जनताको मानसिक भावना परिवर्तनका लागि भने अलिकता पनि कन्जुस्याईं गरिरहेका छैनन् । पत्रपत्रिका जनताको हातमा पर्ने विटिक्कै हेर्ने बेलामा कुनै न कुनै विचार, समाचार वा लेख रचनाबाट मानिसको दिमागलाई परिवर्तन गरी लग्ने कार्यमा सहयोगी भूमिका खेल्ने गर्दछ । नयाँ नयाँ सूचना वा धारणा दिएर भएपनि विभिन्न सञ्चार माध्यम राजनीतिक वा सांस्कृतिक परिवर्तनको लागि अग्रणी भूमिका निभाउँछन् ।

हिजो सम्म सरकारको कमी कमजोरी उजागर गर्न, भ्रष्टाचार र पंचायती ब्यवस्थाको विरोध गर्न मिसन पत्रकारिताको रुपमा पत्रपत्रिका सञ्चालन हुने गरिन्थ्यो । भरखर भरखर भने कुनै कुनै पत्रपत्रिकाहरु बल्ल ब्यवसायिक रुपमा सञ्चालन गर्नु पर्दछ भनी अग्रसर भइरहेका छन् । तर यो धारणाले मूर्त रुप भने लिन सकिरहेको छैन । कतिपय स्थानीय पत्रिका, विभिन्न जनजातिले बोल्ने भाषामा प्रकाशित हुने गरेका पत्रपत्रिकाहरुलाई बचाउनको लागि पत्रकार आफू मर्नु पर्ने अवस्था सिर्जना भइरहेको छ । आफ्नो निजी सम्पत्ति, आफ्नो पैसा र श्रम लगानी गरी कसैको सहयोग समेत नलिइकन पत्रिका चलाउनु पर्ने अवस्था सिर्जना भइरहेको छ । यो अवस्थामा सुधार ल्याउनको लागि देशको राजनीतिक अवस्था परिवर्तनको लागि अग्र स्थानमा बसेर काम गरेका पत्रकारहरुको सुरक्षाको लागि सरकार लागि पर्नु पर्ने थियो । पत्रकारहरुले आफ्नो पुरानो आयश्रोत आउने पेशा नै छाडेर मान, मर्यादा र इज्जतका लागि त्याग तपश्या र बलिदान गरेका छन् । तर उनीहरुले पछिल्लो अवस्थामा आर्थिक संकट भोग्नु परिरहेका छन् । उनीहरुको वित्त विकासका लागि अहिले सरकारले पत्रकार संरक्षण कोष स्थापना गरेको छ । त्यसबाट पनि कोही लाभाम्वित भएको पाईदैन ।

यसरी परिवर्तनका संवाहक पत्रकार आफै कति पीडित छन् भन्ने कुरा प्रेस काउन्सिलले बुझ्नु पर्दछ । सक्कली र नक्कली पत्रकारहरुलाई छुट्याई सक्कली पत्रकारहरुलाई ससम्मान सदस्यता वितरणको काम पत्रकार महासंघले गर्नु पर्दछ । छानविनको नाममा पत्रकार महासंघले इमान्दारपूर्वक पत्रकारिता गरिरहेका पत्रकारहरुको नाम महासंघबाट हटाउन पाइन्दैन । कठीन अवस्थामा पनि समाज परिवर्तनको संवाहकको रुपमा काम गर्नु भनेको पत्रकारहरुको निम्ति पनि अत्यन्तै चुनौतीले भरेको पेशा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!