शैक्षिक क्यालेन्डर कार्यान्वयन मेरो पहिलो प्राथमिकता : उपकुलपति बराल
काठमाडौँ, फागुन १०, २०८०ः
त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति केशरजङ्ग बरालले पदबहाली गर्नुभएको छ । आज साँझ कीर्तिपुरस्थित विश्वविद्यालय कार्यालयमा पुगेर उहाँले कार्यभार सम्हाल्नुभएको हो ।
पदबहालीपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपकुलपति बरालले आफ्नो पहिलो प्राथमिकता विश्वविद्यालयको वार्षिक शैक्षिक ‘क्यालेन्डर’ कार्यान्वयन गर्नु रहेको बताउनुभयो ।
“त्रिभुवन विश्वविद्यालय देशको ठूलो संरचनायुक्त संस्था हो । यहाँ धेरै काम गर्नुपर्नेछ”, उहाँले भन्नुभयो । शैक्षिक क्यालेन्डर कार्यान्वयन तथा समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशनलाई प्राथमिकता दिइने उपकुलपति बरालले बताउनुभयो । विश्वविद्यालयको पाठ्यक्रम अद्यावधिक गर्ने आफ्नो योजना रहेको उहाँको भनाइ थियो ।