स्वास्थ्य संस्थामा गरिने परीक्षण र उपचारको शुल्क निर्धारण गर्न सांसद कार्कीको माग

काठमाडाैं , फागुन १०, २०८०ः

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोषिमा कार्कीले स्वास्थ्य संस्थाहरुले गर्ने परीक्षण र उपचार खर्चमा एकरुपता ल्याउन मापदण्ड बनाउनुपर्ने बताउनुभएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले तरकारीदेखि तेलसम्म र नुनदेखि सुनसम्मको मूल्य राज्यले तोकिदिएको भएपनि बिरामीको उपचारजस्तो अति संवेदनशील विषयमा राज्यले कुनै शुल्क नतोकेको बताउनुभयो ।

उहाँले परीक्षण र उपचारको कुनै शुल्क निर्धारण नहुँदा नीजि र सरकारी स्वास्थ्य संस्थाहरुले आफूखुशी शुल्क लिइरहेका भन्दै यसको नियमन हुनुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य उपचार गर्न पनि लुगा र जुत्ता बेचेजस्तो मोलमोलाइ भइरहेको बताउनुभयो । एउटै ल्याव परीक्षणमा पाँच गुणा बढीसम्म शुल्क लिइएको प्रमाण आफूले भेटेको भन्दै यसप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले शुल्क निर्धारण समितिलाई तत्काल सक्रिय बनाएर शुल्क निर्धारण गर्न सरकारसँग माग गर्नुभयो ।

उहाँले बिरामीहरु कहाँ सस्तोमा उपचार गर्न पाइन्छ भनेर भौँतारिएर हिँड्नुपर्ने अवस्था रहेको भन्दै त्यस्तो अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!