भक्तपुर, २०८० फागुन २७ः
भक्तपुर नगरपालिकाको आयोजनामा यहि फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म हुने अन्तरनगर महिला कबड्डी प्रतियोगिता हुने भएको छ। भक्तपुर नगरपालिकाले आज एक पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो।
उक्त कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले खेलकुद प्रतियोगिता आयोजनाले राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन तथा खेलाडीको स्तर मापन गर्ने अवसर पनि मिल्ने बताउनुभयो। अन्तरनगर महिला कबड्डी प्रतियोगिता देशमै पहिलो प्रतियोगिता आयोजना भएको बताउँदै उहाँले नागरिकहरु स्वस्थ भए स्वास्थ्य संस्था र अस्पतालमा बिरामीहरुको चाप घट्दै जाने बताउनुभयो । खेलकुदलाई मानव जीवनको अभिन्न अंगको रुपमा अगाडि बढाउने सिलसिलामा भक्तपुर नपाले सबै विद्यालयहरुलाई खेलकुदमा सहभागी गराउन नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितालाई निरन्तरता दिँदै आएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले अन्तरनगर महिला कबड्डी प्रतियोगिताबारे प्रेस विज्ञप्ति वाचन गर्दै प्रतियोगितामा देशका १७ वटा नगरपालिकाहरूबाट भाग लिन नाम दर्ता गराइसकेको अवगत गराउनुभयो । उक्त प्रतियोगितामा प्रथम हुने टीमलाई रु. १ लाख ५० हजार, दोस्रोलाई रु. १ लाख, तेस्रो र चौथोलाई रु. ५०÷५० हजार प्रतिसमूह नगद पुरस्कारको व्यवस्था गरेको जानकारी गराउनुभयो ।
कार्यक्रममा युवा तथा खेलकुद समितिका सदस्य रामसुन्दर बासीले अन्तर नगर महिला कबड्डी प्रतियोगिताको लागि १५१ सदस्यीय मूल समिति र ११ वटा उपसमिति गठन भएको र प्रतियोगितामा सम्मिलित खेलाडीहरुको स्वास्थ्य बीमाको पनि व्यवस्था गरेको बताउनुभयो ।
अन्तर नगर महिला कबड्डी प्रतियोगितामा हालसम्म महाकाली नगरपालिका– दार्चुला, मेलौली नगरपालिका – बैतडी, भिमदत्त नगरपालिका – कन्चनपुर, बुटवल उपमहानगरपालिका, कलैया उपमहानगरपालिका – बारा, सिद्धिचरण नगरपालिका– ओखलढुंगा, विराटनगर महानगरपालिका, काठमाडौं महानगरपालिका, गोदावरी नगरपालिका– ललितपुर, कीर्तिपुर नगरपालिका, मध्यपुर थिमि नगरपालिका, पनौति नगरपालिका, बनेपा नगरपालिका, सोलुखुम्बु नगरपालिका, भक्तपुर नरपालिका, ललितपुर महानगरपालिका, पोखरा महानगरपालिका गरी १७ वटा महानगरपालिका तथा नपाहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।