भरतपुरको दियालो बङ्गला सञ्चालनको जिम्मा भरतपुर महानगरलाई

चितवन, चैत ९, २०८०ः

भरतपुर महानगरपालिका-१, आपँटारीमा रहेको ऐतिहासिक र पुरातत्त्विक सम्पदा दियालो बङ्गला दरबारको संरक्षण, संवर्धन-प्रबर्धन,सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी भरतपुर महानगरपालिकाले लिएको छ । नेपाल ट्रष्ट र महानगरपालिका बिच एक सम्झौता गरी सञ्चालन र व्यवस्थापनको जिम्मा महानगरले लिएको हो

आज आयोजित एक समारोहमा ट्रष्टका तर्फबाट सदस्यसचिव झलकराम अधिकारी र महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार महानगरले यही चैत ९ गतेदेखि वि.सं.२०८२ असार मसान्तसम्म उक्त बङ्गाल सञ्चालन गर्नेछ । यो अवधिमा नेपाल ट्रष्टको भरतपुरस्थित दियालो बङ्गलाको भवन तथा परिसर संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै उपभोग महानगरले गर्ने, ट्रष्टको स्वामित्वमा रहेको ऐतिहासिक तथा सांस्कृतिक महत्वका सम्पदा अवलोकन तथा सञ्चालन कार्यविधि, २०८० को अधीनमा रही सञ्चालन गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

यसैगरी, महानगरले यसलाई निरन्तरता दिने भए सम्झौता समाप्त हुनुअघि नै नवीकरणका लागि ट्रष्टलाई अनुरोध गर्नुपर्ने र सम्झौता नवीकरण गर्ने-नगर्ने निर्णय एक महिनाभित्र गरिने सम्झौतापत्रमा उल्लेख छ । महानगरले सञ्चालन तथा व्यवस्थापन अन्त्य गर्न चाहेमा कम्तीमा एक महिनाअघि जानकारी गराउनुपर्ने सम्झौतामा उल्लेख छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

हस्ताक्षर कार्यक्रमलाई संबोधन गर्नु हुदै महानगर प्रमुख दाहालले महानगरले ऐतिहासिकस्थलको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो । औपचारिकरुपमा प्रयास गरेको तीन महिनामा जिम्मेवारी स्थानीय तहमा आएको उहाँले बताउनुभयो । सङ्घीय र स्थानीय सरकार बिचको समझदारीमा बङ्गला सञ्चालनको जिम्मेवारी महानगरमा आएको बताउँदै प्रमुख दाहालले यसले भरतपुर भ्रमण गर्न आउने पर्यटकका लागि नयाँ गन्तव्य थपिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो स्थल पर्यटकका लागि आकर्षणको केन्द्र बन्नेछ ।” एतिहासिक स्थलको अध्ययन केन्द्रका रूपमा यसको विकास हुने उहाँको भनाइ थियो । भरतपुर भ्रमण वर्ष सन् २०२४ लाई लक्षित गरी दियालो बङ्गला आगामी वैशाख महिनाभित्रै सर्वसाधारणका लागि खुल्ला गर्ने गरी काम गरिने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मर्मतसम्भारका लागि ९२ लाखमा दिदीबहिनी निर्माण सेवाले ठेक्का सम्झौता गरेको छ ।

उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर भ्रमण वर्षसँगै सञ्चालनमा ल्याउन लागिएको उक्त बङ्गला सञ्चालनको जिम्मेवारी महानगरले पाएसँगै पर्यटकका लागि नयाँ गन्तव्य थपिएको बताउनुभयो । नारायणी नदी किनार र देवघाटधाम नजिकै रहेको यस क्षेत्रमा पहिला राजपरिवार, सुरक्षा निकाय र केही कर्मचारीले मात्रै प्रवेश गर्न पाउने भए पनि अब छिट्टै सर्वसाधारणका लागि खुल्ला गरिने उहाँले बताउनुभयो । वि.सं.२०२८ सालमा राजा महेन्द्रको निधन यही भएकाले पनि यस क्षेत्रको महत्त्व रहेको उपप्रमुख अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “ऐतिहासिकस्थलका रूपमा रहेको यस ठाउँलाई संरक्षण र संवर्द्धन गर्दै यसका बारेमा जानकारी गराउने अवसर महानगरले पाएको छ ।”

नेपाल ट्रष्टका सदस्यसचिव अधिकारीले ट्रष्ट सञ्चालक समितिको ८२ औँ बैठकको निर्णयअनुसार संरक्षण, संवर्द्धन र प्रवर्द्धनको जिम्मेवारी महानगरलाई दिइएको बताउनुभयो । ट्रष्टका तर्फबाट पहिलोपटक जिम्मेवारी स्थानीय सरकारलाई दिइएको उहाँको भनाइ छ । ट्रष्टका ऐतिहासिकस्थलहरु संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि दिइँदै जाने भन्दै पोखराको रत्न मन्दिर र मकवानपुरको कान्ति गृह स्थानीय सरकारलाई जिम्मेवारी दिने गरी प्रक्रिया अघि बढिरहेको सदस्यसचिव अधिकारीले जानकारी दिनुभयो ।

PC: Renu Dahal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!