पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौलाको सफल प्रत्यारोपण

पोखरा, चैत ९ गते ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको पश्चिमाञ्चल अस्पतालले आफ्नै जनशक्तिबाट पहिलोपटक मिर्गौलाको सफल प्रत्यारोपण गरेको छ ।

यसअघि २०७९ असारमा पहिलो पटक सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले पोखराको यस अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेको थियो । सो टोलीले ८ औँ पटकसम्म मिर्गौला प्रत्यारोपण गरेपछि यस अस्पतालका चिकित्सकलाई सिप हस्तान्तरण गरेको थियो । पोखराका चिकित्सकहरूले नवौँ पटक भने आफ्नै जनशक्तिमा प्रत्यारोपण गर्न सफल भएको प्रतिष्ठानका सूचना अधिकारी सुमन भट्टराईले जानकारी दिनुभयो ।

पोखराका चिकित्सकहरूले बिहीबार तनहुँको व्यास नगरपालिका–१० निवासी ३५ वर्षीया सम्झना गुरुङको सफल प्रत्यारोपण गरेका छन् । उहाँलाई लमजुङ सुन्दरबजार नगरपालिका बस्ने बहिनी सुमिना गुरुङले मिर्गौला दान गर्नुभएको थियो ।

बिरामीको अवस्था सामान्य रहेको डा प्रकाश क्षेत्रीले जनकारी दिनुहुँदै एक हप्तामा डिस्चार्ज हुने बताउनुभयो । अस्पतालका युरो सर्जनद्वय डा प्रकाश क्षेत्री र डा अनुप चापागाईँ, नेफ्रोलोजि्ष्ट डा जुजुराम श्रेष्ठ र डा अमृत केसी, जनरल सर्जन डा डेभिड श्रेष्ठ र डा सन्तोष श्रेष्ठ साथै एनेस्थेसिया डा रोहिनी सिग्देल, डा माया लामा, डा. सनिस गुरुङ र डा अनिल न्यौपानेको टोलीले प्रत्यारोपण गरेको थियो। पोखरामा प्रत्यारोपण गर्नका निम्ति अस्पताल प्रशासनले सातजना स्टाफ नर्सलाई तालिम दिएर तयार गरेको थियो । जसमा गीतादेवी तिवारी, रन्जिता पौडेल, सुष्मा ढकाल, विशाखा पण्डित, नरमाया पुन, श्रुति श्रेष्ठ र आरती पुन आइसियु केयरमा रहनुभएको थियो ।

नेपाल सरकारको विपन्न उपचार स्वास्थ्य कार्यक्रम अन्तर्गत बिरामीले प्राप्त गर्ने चार लाख रुपियाँभित्र मिर्गौला प्रत्यारोपण सम्पन्न हुने सूचना अधिकारी भट्टराईले प्रष्ट पार्नुहुँदै कतिपय बिरामीले सो रकमबाटै पूर्ण रूपमा प्रत्यारोपण सुविधा पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!