काठमाडौं, चैत १२, २०८०ः
नेवा: पत्रकार राष्ट्रिय दबूले ६ जना महिला पत्रकारहरुलाई साधना महिला पत्रकारिताबाट सम्मानित गरेको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रम बिच उपप्रधान तथा स्वास्थ्य जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले महिला पत्रकारहरुलाई साधना महिला पत्रकारिता सम्मानबाट सम्मानित गर्नु भयो।
नेवा: पत्रकार राष्ट्रिय दबूले ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पत्रकारितामा क्रियाशील पत्रकारलाई सम्मान गरेको हो । साधाना महिला पत्रकारिताबाट सम्मानित हुने पत्रकारहरुमा यलु जोशी, भगवती तिमल्सिना, पवन वर्षा शाह, रिता महर्जन, शान्ति तामाङ र सुनी बनेपाली हुनुहुन्छ ।
कार्यक्रमलाई संबोधन गर्नु हुदै उपप्रधान मन्त्री यादवले महिला पत्रकार पत्रकारिता क्षेत्रमा मात्र नभएर हरेक क्षेत्रमा सम्मानयोग्य भएको धारणा राख्नुभयो । “महिला विना कुनै पनि क्षेत्र अधुरै हुन्छ । त्यसैले महिला पत्रकारलाई सम्मानित गर्न पाउँदा धेरै खुसी लागेको छ” उहाँले भन्नुभयो ।
नेवारी समुदायको संस्कृति, परम्पराविना काठमाडौँको अस्तित्व नै नरहने बताउनुभयो । नेवार समुदायले संस्कृति, सम्पदा र परम्पराको रक्षा गरी देशलाई चिनाएको उहाँको भनाइ छ ।
कार्यक्रम संयोजक सुनिता महर्जनले नेपालका पहिलो महिला पत्रकार साधना प्रधानको नाममा स्थापना गरिएको पुरस्कार पत्रकारिता क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने महिलालाई प्रदान गरिएको जानकारी दिनुभयो । साधना महिला पत्रकारिता सम्मानको यो आठौँ संस्करण हो ।