सरकारको ध्यान बजेट र नीति तथा कार्यक्रममा केन्द्रित छ : प्रधानमन्त्री दाहाल

गोरखा , चैत्र २४, २०८०ः

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको अहिलेको ध्यान नयाँ बजेट र नीति तथा कार्यक्रममा केन्द्रित रहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति गोरखाको आयोजनामा आज सदरमुकाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले सरकारले आगामी आर्थिक वर्षको बजेट नयाँ ढङ्गले ल्याउने तयारी गरेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “मैले गतसाल नै भनेको थिएँ सरकारको नीति तथा कार्यक्रम र बजेट बनाउने तरिका अब परम्परागत हुनेछैन, त्यसलाई नयाँ तरिकाबाट सामूहिक विवेकको प्रयोग गर्दै सबै सांसदको राय लिएर बजेट बनाउने प्रक्रिया सुरु भइसकेको छ ।” अध्यादेशमार्फत पुरानै शैलीबाट बजेट ल्याउने परम्परा तोडिएको उहाँको भनाइ थियो । अब आउने बजेट उत्पादकत्व र रोजगारी केन्द्रित रहने प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो ।

‘‘दश–बीस लाखका साना बजेट पनि सङ्घीय सरकारले नै गर्ने परम्परा तोडिएको छ”, उहाँले भन्नुभयो, “तीन करोडभन्दा साना कुनै पनि आयोजना अब सङ्घीय सरकारले गर्ने छैन, साना आयोजना सबै प्रदेश र स्थानीय सरकारले गर्नेछन् ।”

प्रधानमन्त्री दाहालले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा सरकार फेरि नयाँ शिराबाट अगाडि बढेको बताउनुभयो । “लघुवित्त पीडितको समस्या वार्ताको माध्यमबाट समाधान गरेर टुङ्ग्यायौँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “मिटरब्याज पीडितहरूको पनि सडकमा जटिल समस्या देखिएको थियो, त्यो पनि समाधान भएर गएको छ, सहकारीसम्बन्धी समस्या पनि नयाँ वर्गीकरणसहित समाधान गर्ने प्रक्रियामा सरकार अघि बढेको छ ।”

ललिता निवासको झण्डै एक सय ४२ रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याइएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले बाँसबारीको १० रोपनी पनि सरकारको नाममा आएको बताउनुभयो । “यी सबै सुशासन र भ्रष्टाचारको विरुद्धमा भएका काम हुन्, भुटानी शरणार्थी प्रकरण पनि अर्को एउटा उदाहरण हो”, उहाँले भन्नुभयो, “वाइडबडी प्रकरणमा सरकारले चलाएको कदमले पनि भ्रष्टाचार गर्नेहरू कोही छुट्दैनन् भन्ने प्रमाणित भइसकेको छ ।”

फरक प्रसङ्गमा प्रधानमन्त्री दाहालले बुढीगण्डकी जलविद्युत् आयोजना शिलान्यास गर्न अन्तिम निर्देशन दिइसकेको जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!