काठमाडाैं, चैत्र २५, २०८०ः
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया काउन्सिल सम्बन्धि विधेयक संसदमा दर्ता गर्न लागिएको जानकारी दिनुभएको छ । आइतबार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा बोल्दै मन्त्री शर्माले मिडिया काउन्सिल सम्बन्धी विधेयक संसदमा दर्ता गर्न लागिएको जानकारी दिनुभएको हो ।
उहाँले सो विधेयक मन्त्रिपरिषद्को विधेयक समितिबाट पारित भइसकेको बताउनु भयो । उहाँले मिडिया काउन्सिल विधेयक नै आउन लागेपछि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा प्रेस काउन्सिल नेपालसँग सम्बन्धित दफाहरुमा कुनै निर्णय गर्न आवश्यक नभएको बताउनुभयो । उहाँले मिडिया काउन्सिल विधेयकमा प्रेस काउन्सिलको अध्यक्ष हुने व्यक्तिको योग्यता सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको व्यक्ति हुनुपर्ने अथवा मिडिया क्षेत्रमा विशिष्ट योगदान गरेको व्यक्ति हुनुपर्ने भनेर उल्लेख गरिएको बताउनुभयो ।
नेपाली काँग्रेसकी सचेतक सुशिला थिङले धेरै नियुक्तिमा सेवा निवृत्त प्रधानन्यायाधीश, न्यायाधीश अथवा वरिष्ठ अधिवक्ता हुनुपर्ने मापदण्ड राखिएको भन्दै त्यसो गर्नु नहुने बताउनुभयो । उहाँले सम्बन्धित विषय विज्ञलाई नै सम्बन्धित क्षेत्रको नेतृत्व दिने नीति बनाउनुपर्ने बताउनुभयो ।
उहाँले प्रेस काउन्सिल नेपालमा पनि मिडिया क्षेत्र बुझेको मान्छेलाई अध्यक्ष बनाउनेगरी मापदण्ड बनाउनुपर्नेमा जोड दिनुभयो ।