सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सबलीकरणमा एकताबद्ध हुन सबै राजनीतिक दलहरूलाई एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौँ, वैशाख १०, २०८१ः

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र रक्षा र सबलीकरणमा एकताबद्ध हुन सबै राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ ।

ललितपुरको गोदावरीमा सोमबार आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हीरक महोत्सव समारोहमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सबलीकरणको बाटोमा सबै एक ठाउँमा उभिने मिल्ने अवस्था रहेको पनि बताउनुभयो ।

उहाँले विद्यमान व्यवस्थालाई माध्यम बनाएर सुशासन र विकासको काममा अघि बढ्नुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले पूर्वराज ज्ञानेन्द्र शाहप्रति सङ्केत गर्दै प्रतिगमनको कुरा गरेर कहीँ पनि पुग्न नसकिने बताउनुभयो । उहाँले सरकार र वर्तमान सत्तारुढ दलहरुले पनि मुलुकबाट गरिबी हटाउने गरी ठोस योजना बनाउने, भ्रष्टाचारको अन्त्य गर्ने र राष्ट्र र राष्ट्रिय हितको पक्षमा अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अहिले हामी सहकार्यको माध्यमबाट निकट हुँदै जान्छौँ । अहिले सहकार्यको माध्यमबाट अगाडि बढ्छौँ । क्रमशः हामी एकताको बाटोमा पुग्न सक्छौँ । त्यस बिन्दुमा पुग्न सक्छौँ । तर अहिले नै एकीकरण गरौँ, देशभरिका सबै मिलौँ भन्ने हो भने किन फुटेका थियौँ ? के भएर फुटेका थियौँ ? यस्ता प्रश्न उठ्छन् । अहिले सहमति, सहकार्य । सहकार्यका निम्ति सहमतिबाट जाऔँ । अर्को कुरा के हो भने अहिले यतिबेला ठ्याक्कै वामपन्थीहरू मिलेर मात्रै अगाडि बढ्ने अवस्था होइन । देशभक्त शक्तिहरू राष्ट्रिय शक्तिको रूपमा जसले काम गर्न मन्जुर गर्छ, त्यस्ता शक्तिहरू, देशको पक्षमा, सार्वभौमसत्ताको पक्षमा, देशको स्वाधीनताको पक्षमा, स्वतन्त्रताको पक्षमा भौगोलिक अखण्डताको पक्षमा, राष्ट्रिय हितहरूको पक्षमा र राष्ट्रिय स्वाभिमानको पक्षमा हुने मानिसहरू । भ्रष्टाचार नगर्ने र भ्रष्टाचार हुन नदिने, भ्रष्टाचार नियन्त्रणको पक्षमा हुने व्यक्ति र शक्तिहरू । त्यसै गरेर विकासलाई अघि बढाउनुपर्छ ।’’

उहाँले भन्नुभयो, ‘‘समाजमा शान्ति र सुव्यवस्था कायम गर्नुपर्छ, अनेक प्रकारका साम्प्रदायिक विद्वेष भड्काउने खालका, देशको विविधतालाई दुरुपयोग गर्ने खालका हाम्रा भाषा, जातजातिका संस्कृतिको सम्मान गर्न छोडेर तिनका बिचमा अविश्वास बढाउने, त्यस्ता खालको क्रियाकलाप गर्‍यो भने देश बिथोलिन्छ । देशमा अनेकता हुन्छ । देशमा एकता भएर राष्ट्र निर्माण गर्ने अभियानलाई यसले कुठाराघात गर्छ, त्यसले । त्यसकारण त्यस्तो नगर्ने राष्ट्रिय एकताको पक्षमा रहेका यस्ता शक्तिहरू मिलेर अगाडि बढ्न सकिन्छ । दुई वटा पक्ष छ एकताका । अहिले सिङ्गै देश एक हुनुपर्दछ । सिङ्गै देश के कुरामा एक हुन सकिन्छ भने अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गरौँ, सबल बनाऔँ ।’’

उहाँले अहिले हामी सरकारमा हुनेहरूको प्रमुख कर्तव्य गरिबीको अन्त्य गर्नु रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘गरिबी निवारण गरौँ हामीले ठोस कार्यक्रम त्यसका लागि बनाउनुपर्दछ । त्यो काम भ्रष्टाचार नियन्त्रण गरेर विकासका ठोस योजनाहरू ल्याएर नयाँ ढङ्गले प्रयोग गर्न सक्छौँ । सरकारमा रहेका दलहरूले यी कुराहरूलाई ध्यान राखेर फराकिलोपनका साथ र साँच्चै हामीले केही गर्नुछ भन्ने कुरालाई ध्यानमा राखेर पोलिटिक्सलाई खाली प्रचारबाजीको विषय होइन, उपलब्ध प्राप्त गर्ने विषयको रूपमा अगाडि बढाउनुपर्छ । यस हिसाबले हामी अगाडि बढ्नुपर्छ भन्ने कुरा म राख्न चाहन्छु ।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!