तालिमपछिको सिपलाई रोजगारी र उत्पादनसँग जोडेर व्यवहारिक बनाउँछौँ — उपप्रमुख डंगोल
काठमाडौँ, वैशाख १९, २०८१ः
काठमाडौँ महानगरपालिकाले ‘विश्व मजदुर दिवस’ को अवसर पारेर आजदेखि टुँडिखेलमा ‘सिप मेला २०८१’ सुरु गरेको छ । २ हजार ८१ जनालाई निःशुल्क सिपमुलक तालिम दिने र तालिम लिएकाहरुलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ्’ उपलब्ध गराउने लक्ष्यसहित मेला थालिएको हो । सिलाइका लागि कपडा काटेर र काटिएको कपडालाई मेसिनमा सिलाएर मेलाको समुद्घाटन गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, विगतका तालिमभन्दा अहिलेको तालिम फरक विशेषताको भएको बताउनुभयो ।

‘विगतमा पनि धेरै तालिम भए तर जनशक्ति आवश्यक पर्ने ठाउँमा सिपयुक्त जनशक्तिको सधैँ अभाव नै छ । यो हेरेपछि हामीलाई थाहा भयो, तालिम दिनेले दिँदैमा र लिनेले लिँदैमा नतिजा आउँदैन । विगतको यो अभ्यासलाई सुधार गर्दै हामीले उपलब्ध गराउने तालिमलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ्’ सँग जोडेका छौँ ।’ डंगोलको भनाइ थियो ।
यति धेरै सहभागी देख्दा थप जिम्मेवारी महसुस भएको छ । कार्यक्रममा उपस्थित सहभागिताको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘धेरै संख्या देख्दा एकातिर महानगरपालिकाप्रति यहाँहरुले गर्नुभएको विश्वासप्रति अझै काम गर्नु पर्ने महसुस भयो। उहाँले भन्नुभयो, ‘हामी आफैँसँग रोजगारीका अवसर छन् । यसलाई पहिचान गरौँ । यहीँ केही गर्न सकिन्छ । गरी खाने वातावरण बनाउन सकिन्छ । यतातिरको मनोविज्ञान विकास गरौँ ।’
सिपयुक्त जनशक्तिको माग र आपूर्तिका बिचमा अहिले देखिएको खाडल घटाउने तालिमको उद्देश्य रहेको छ।
