चिनियाँ भाषा प्रशिक्षण प्रारम्भः मेहनत गर्न प्रशिक्षार्थीलाई मन्त्री तामाङको सुझाव

काठमाडौँ, जेठ २९, २०८१ः

देशका पर्यटन व्यवसायीका लागि सञ्चालित छैठौँ चरणको चिनियाँ भाषा प्रशिक्षण आजदेखि सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङ र नेपालका लागि चिनियाँ राजदूत छन् सङले संयुक्तरुपमा प्रशिक्षणको उदघाटन गर्नुभयो । नेपाल पर्यटन बोर्ड र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्सँगको सहकार्यमा काठमाडौंस्थित चिनियाँ राजदूतावासले सञ्चालन गरेको यो प्रशिक्षण आगामी छ महिनासम्म जारी रहने छ ।

त्यस अवसरमा मन्त्री तामाङले भाषाले सम्बन्ध विस्तार गर्न मद्दत पुग्ने र समृद्ध राष्ट्र चीन नेपालको पर्यटनको ठूलो स्रोत भएको बताउँदै चिनियाँ भाषा अप्ठेरो भएपनि नेपालको पर्यटन क्षेत्रको जनशक्तिको लागि अपरिहार्य हुँदै गएको उल्लेख गर्नुभयो ।

उहाँले चिनियाँ र भारतीय पर्यटककोे आर्कषण हाम्रो मुलुक भएकाले धेरैभन्दा धेरै पर्यटक छिमेकी देशहरूबाट भित्र्याउन हामीले उनीहरुलाई आकर्षक ‘प्याकेज’ उपलव्ध गराउन जरुरी छ भन्नुभयो । भाषाका दृष्टिले भारतीयसँग व्यवहार गर्न नेपालीलाई सहज भएपनि चिनियाँ भाषा अलि कठिन भएकाले मेहनत गर्न प्रशिक्षार्थीलाई सुझाव दिनुभयो । राजदूत छन्ले नेपालीहरुले चिनियाँ भाषा तुलनात्मकरुपमा चाडै सिक्ने र प्रष्टरुपमा बोल्ने गरेको अनुभव सुनाउनुभयो ।

चिनियाँ राजदूत छन् सङले चिनियाँ भाषा पुरानो इतिहास मात्र नभएर वैज्ञानिक विकासको आधार भएको बताउनुभयो । धेरै व्यापारी र लगानीकर्ता नेपाल आउने तयारीमा रहेका जानकारी दिँदै उहाँले चिनियाँ भाषा जानेका जनशक्ति उनीहरुको पहिलो आवश्यकता हुन् भन्नुभयो । साथै उहाँले दुई देशको आत्मीयता विस्तार गर्न पनि भाषा सिक्न आवश्यक भएको बताउनुभयो । चिनियाँ नागरिकलाई पनि नेपाली भाषा सिकेर नेपालको कला संस्कृतिसँग जोडिन चिनियाँ राजदूतले आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!