बन्द रहेको सिस्नेरी–दक्षिणकाली सडक सुचारु

हेटौँडा, असार २२, २०८१ः

अविरल वर्षापछि आएको पहिरोका कारण हेटौँडा हुँदै काठमाडौँ जाने छोटो दूरीको मार्गहरुमध्ये तीन वटा सडक अवरुद्ध बनेकोमा कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक बिहानबाट सुचारु भएको छ ।

कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकको मकवानपुरको इन्द्रसरोबर गाउँपालिका २ छेपारेस्थित सडक खण्डमा आएको पहिरो पन्छाएर शनिबार बिहान ९ः१५ बजेबाट अवरुद्ध सडक सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शुक्रबारदेखिको अविरल वर्षापछि कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकको मकवानपुरको इन्द्रसरोबर गाउँपालिका २ छेपारेस्थित सडक खण्डमा सडकमाथिबाट पहिरो आई सडक शनिबार बिहान २ः५० बजेबाट पूर्णरुपमा अवरुद्ध भएको थियो ।

यस्तै, इन्द्रसरोबर गाउँपालिका ५ महालक्ष्मी खोला नजिक मातातीर्थ–चखेल–देउराली जाने सडक खण्डमा पहिरो गएर उक्त सडक खण्डमा शनिबार बिहान ७ बजेबाट पूर्ण अवरोध भएको छ । पहिरो हटाएर सडक सुचारु गर्ने कार्य भइरहेको प्रहरीको भनाइ छ । उता भीमफेदी गाउँपालिका ४ रातोमाटेमा पहिरो गएर सडक अवरुद्ध बनेको छ ।

यसैगरी कान्ति लोकपथ अन्तर्गत मकवानपुर खण्डमा चार स्थानमा पहिरो गएको छ । कान्ति लोकपथ अन्तर्गत भीमफेदी गाउँपालिका ८ स्थित प्रतापडाँडा, महादेवटार र बकैया गाउँपालिका .१२ को आले र वडा नं. ११ को सिमात घुम्तीमा पहिरो खसी उक्त सडक खण्ड शनिबार बिहान २ः१० बजेबाट पूर्ण रुपमा बन्द रहेको छ ।

उक्त सडकको ललितपुरतर्फको सडक खण्डमा अवरोध रहेको जनाइएको छ । अवरुद्ध सडकहरु सुचारु गर्न सडक विभागसँग समन्वय भइरहेको जनाइएको छ ।

हेटौँडाबाट पालुङ हुँदै काठमाडौँ जाने त्रिभुवनराजपथ सडकखण्ड र चित्लाङ–चन्द्रागिरी हुँदै काठमाडौँ निस्कने सडक अवरोध नभएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!