डा. केदार सुबेदी
महासचिव
नेपाल भेटेरिनरी एशोसिएसन
मासु उत्पादन तथा उपभोगको लागि विधिपूर्वक पालिएका पशुहरूलाई परीक्षण पश्चात कुनैपनि कष्ट नदिई बध गरेर तयार गरेको खान योग्य मांशपेशीको भागलाई मासु भनिन्छ । दशैँको समयमा कमैको घरमा मात्रै शाकाहारी परिकार बनाइन्छ । यो समयमा प्राय सबैको घरमा मासुका परिकारहरू नै पाइन्छ । दशैलाई मासु खाने चाडका रुपमा पनि लिइन्छ । तर हामीले मासु तथा यसका परिकारहरू खाँदा निकै सचेत हुनुपर्छ । चाडपर्वको बेला रमाईलोसँगै स्वास्थ्यमा ख्याल नगर्दा यसले स्वास्थ्यमा ठुलो समस्या निम्त्याउन सक्छ । पशु सेवा विभागको तथ्याङ्कअनुसार एक जना नेपालीले वर्षमा करिव १८ के.जी. मासु खाने गर्छन् जसमध्ये सबै भन्दा बढी कुखुराको मासु ४६ प्रतिशत, राँगाको मासु २९ प्रतिशत, खसी बोकाको मासु १९ प्रतिशत तथा ६ प्रतिशत मासु बंगुरको मासु खाने गर्छन् ।
पशुपन्छीको मासु प्रोटिनको राम्रो स्रोत भएतापनि अस्वस्थ पशुबाट उत्पादन भएको मासु सेवनले मानिसको स्वास्थ्यमा असर गर्न सक्छ । पशुको मासुबाट क्षयरोग, ब्रुसेलोसिस्, इकानोकोकोसिस्, साल्मोनेलोसिस् जस्ता रोगहरू सर्न सक्छ । त्यसैगरी पशु स्वस्थ भए पनि बध गर्ने स्थान, बध गर्दा प्रयोग गरिने पानी आदि स्वच्छ भएन भने पनि मासु दुषित हुन्छ र मानिसमा रोग लाग्छ । त्यसैले स्वस्थ र स्वच्छ मासु उत्पादन गरी उपभोक्तालाई उपलब्ध गराउन नेपालमा पशु बधशाला तथा मासु जाँच ऐन २०५५ तथा सोको नियमावली २०५७ ले पशुको बध गर्नुअघि पशुको स्वास्थ्यको जाँच गर्नुपर्ने र बध गरेपछि मासु जाँच गर्नुपर्ने व्यवस्था गरेको छ । नेपालमा लुम्बिनी प्रदेश, रुपन्देहीको बुटवल उपमहानगरपालिका र कर्णाली प्रदेश, सुर्खेतको विरेन्द्रनगर नगरपालिकामा मात्रै यो ऐन कार्यान्वयन छ र अन्य स्थानमा यो व्यवस्था कार्यान्वयन हुन सकेको छैन । पशु बधशाला तथा मासु जाँच ऐन २०५५ तथा सोको नियमावली २०५७ मा व्यवस्था भए अनुसार पशु चिकित्सकबाट पशुको स्वास्थ्य परीक्षण गरेर मात्रै पशु बध गर्नु पर्ने भएता पनि ऐनको कार्यान्वयन हुन नसक्दा उपभोक्ता आफैले स्वस्थ पशु तथा मासुबारे जान्न आवश्यक छ ।
मासुका लागि खरिद गरिने पशुपन्छीे हेर्दा चनाखो हुनुपर्छ, नाक वा आँखाबाट पानी बगेको, मुखमा बिमिरा, झोक्रायको, छेरेको, पेट ढाडिएको, सुकेनास, छालासम्बन्धी लक्षण आदि भएमा बिरामीको लक्षण हुन् । तसर्थ, यस्ता लक्षण देखाएका पशु खरिद गर्नु हुँदैन । काठमाडौं भ्यालीभित्रका अधिकाशं पशु हाट बजारमा सरकारी निकायबाट खान योग्य राँगा, खसी बोकाको सिङमा हरियो र अयोग्यमा रातो चिह्न लगाएको हुन्छ । तसर्थ, हरियो चिह्न लागाएको सिङ भएको पशु खरिद गर्नुपर्छ । यदि चेकजाँच नभएको हाटबजार छ भने उपभोक्ताले माथि उल्लेख गरिएबमोजिमका लक्षण हेर्न जरुरी छ । रोगी तथा अस्वस्थ पशुहरू मासुका लागि बध गर्दा सोही पशुमा लागेको रोगको संक्रमण मासुको उपभोगबाट मानिसमा पनि सर्न सक्छ ।
हाटबजारबाट खरिद गरि घर लगेलगत्तै पशुलाई बध गर्न हुँदैन । ढुवानीको स्ट्रेसले गर्दा पशुको मासुको गुणस्तरमा ह्रास आउँछ । तसर्थ, कम्तिमा २४ घण्टा पशुलाई आराम गराएर मात्रै पशुलाई बध गर्नुपर्छ । साथै पशु बध गर्नुपूर्व १२ घण्टाअगाडिबाट खाली पेट राख्नुपर्छ । पशुपन्छी बध गरेलगतै ‘फ्रेस मासु’ भनि खाने चलन छ, तर वास्तवमा मासु बन्नको लागि मासुमा भएको ग्लाइकोजन तत्व लैक्टिक एसिडमा परिणत हुनपर्छ र यसको लागि केहि समय लाग्छ । त्यसपछिमात्र मासुमा रुपान्तरण हुने गर्छ, नत्र मासु केवल लाशसरह नै हुनेगर्छ ।
मासुलाई सकिन्छ भने २४ घण्टा डिप फ्रिजमा राख्ने, कम्तिमा पनि २ देखि ३ घण्टा फ्रिज गरेको मासुमात्र प्रयोग गर्न जरुरी छ । हामी नेपालीहरू छाला नभएको मासु मिठो नहुने भन्ने गर्छौं । तर, छाला शरीरको सबैभन्दा बाहिरी तह भएकाले जीवाणुहरू छालामा बढी सक्रिय हुन्छन् र छालामा कोलेस्ट्रोलको मात्र बढी हुने अनि पोषण तत्व न्यून हुने हुँदा यो मानवस्वास्थ्यको लागि हानिकारक छ । त्यस्तै पशुको पाचन प्रणलीका अंगहरू (पेट, आन्द्रा) र रक्ति पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ । खानैपरेमा यस्ता अंगलाई मासुसँग लसपस नगराइ राम्रोसँग धोएर राम्रोसँग पकाएर खानुपर्छ ।
पशुलाई बध गर्नुपूर्व दक्ष पशु चिकित्सकबाट स्वास्थ्य परीक्षण गर्ने व्यवस्था नभएकोले मासु पूर्ण शुद्ध वा स्वच्छ भए नभएको पहिचान गर्न नसकिने र पशु बधशाला तथा मासु जाँच ऐन २०५५ र सोको नियमावाली २०५७ नेपालको सबै स्थानमा कार्यान्वयन नभएको हुँदा पशुबाट मानिसमा सर्ने जुनोटिक रोगबाट बच्न बचाउन मासुलाई राम्रोसँग पकाएर खानुपर्छ ।